केन्ट। अन्तर्राष्ट्रिय सफल व्यवसायी एवं एनआरएनए यूकेका पूर्वअध्यक्ष अशोक बाबु श्रेष्ठले दोस्रो जीवन पाएको उपलक्ष्यमा परिवार र निकट साथीभाइ सहभागी भएर भव्य उत्सव मनाएका छन् ।
श्रेष्ठका छोरा प्रितन र छोरी प्रितीनाको पहलमा गत २२ डिसेम्बरमा केन्टस्थित घरमा उत्सव मनाइएको हो । सो अवसरमा क्रिसमस होमवारमिङ पार्टी आयोजना गरिएको थियो ।
गत नोभेम्बर, काठमाडौँ घरमा दुर्घटना हुँदा श्रेष्ठको टाउकोमा गहिरो चोट लागेको थियो । त्यसपछि उनलाई उपचारका लागि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा आपत्कालीन भर्ना गरिएको थियो । छोरा प्रितनका अनुसार चिकित्सकले तत्कालै मस्तिष्कको शल्यक्रिया गरेका थिए ।
त्यसबेला बाबुको अवस्था निकै गम्भीर रहेको उनको भनाइ थियो । बाबु गम्भीर बिरामी परेपछि बेलायतमा रहेका प्रितन र मुम्बईमा रहेकी छोरी प्रितिना हेरचाहका लागि तुरुन्तै काठमाडौँ पुगेका थिए । बिस्तारै स्वास्थ्यमा सुधार आएपछि दुवै जना मिलेर बाबुलाई लन्डन ल्याएका हुन् ।
लन्डन आएपछि परिवारको छोराको विशेष पहलमा पार्टी आयोजना गरिएको थियो । पार्टीमा अशोकका साथीहरू, शुभचिन्तक र विभिन्न पेसामा आबद्ध करिब दुई दर्जन व्यक्तित्वहरू सहभागी थिए ।
सन् १९८० मा अशोकसँगै ब्रिटिस सेनामा भर्ती भएका साथीहरू ले. रि. रणे गुरुङ, रामबजार सोसाइटी यूकेका अध्यक्ष बलबहादुर थापा, सार्दीखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ, बीसीसी यूकेका संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले ४४ वर्षको विगत सम्झाएर रमाइलो गराएका थिए ।
यस्तै, कान्तिपुर मिडियाका लन्डन संवाददाता नवीन पोखरेल, गोर्खा मिडियाका सहसम्पादक प्रकाश गुरुङ, प्रिन्सिपल सोलिसिटर राजु थापा, समाजसेवी एवं पूर्वडीएसपी शिव श्रेष्ठ, काउन्सिलर नवीन सिवा र श्रीमती, क्लासमेट थानेश्वर गुरुङ, यामबहादुर राना र श्रीमती, सहारा यूकेका भुपू अध्यक्ष मीनबहादुर गुरुङ, बिजनेस पार्टनर गोविन्द गुरुङ, एनआरएनए यूकेका भुपूअध्यक्ष सूर्य गुरुङ, समाजसेवी मञ्जु गुरुङ राई, अधिवक्ता सुरेन्द्र श्रेष्ठ, एनआरएनए सल्लाहकार चिरञ्जीवी ढकाललगायत शुभचिन्तकहरूको पनि उपस्थिति थियो ।
उपस्थित सबैले श्रेष्ठलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेलायतमा भेट्न पाउँदा खुशी व्यक्त गरेका थिए ।
छोरा प्रितनले केक काट्ने बेला दिएको छोटो मन्तव्यले सबैलाई भावुक बनाएको थियो । लामो समयपछि बाबुआमाको मिलन भएको थियो । बाबुले ठूलो दुर्घटनापछि पुनर्जीवन पाएको माहोल उत्सवमय बनेको थियो । र उपस्थित सबैको आँखा खुसीको आँसुले रसाएका थिए । प्रितनले ठट्टा गर्दै भने, ‘लाहुरे सबै रोयो।’
लगत्तै आमा शोफी र बहिनी प्रितिनाले पनि छोटो मन्तव्य राखेका थिए । बाबुआमाको माया र सम्मानमा छोरा छोरीले गरेको कार्यक्रम साँच्चिकै उत्सवमय बनेको थियो ।
प्रितन एमब्रोस फिल्म डाइरेक्टर, प्रोड्युसर, मिडिया इन्टरप्रिनर, फिलन्थ्रोपिस्ट र ह्युमन राईट्स एक्टिभिस्ट हुन् । हलिउड इन्साइडरका सीईओ भएर काम गरिसकेका छन् । उनले २००३ मा युक्रेन युद्धले बालबालिकाहरूको जीवनमा परेको प्रभाव समेटेर ‘क्यान आई गो होम नाउ’ डकुमेन्ट्री बनाएका छन् । यसका साथै उनले थुप्रै डकुमेन्ट्रीहरू बनाएर हलिउडमा चर्चा कमाइसकेका छन् । छोरी प्रितिना मुम्बईमा व्यवसाय गर्छिन् ।