लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले विविध धार्मिक कार्यक्रमका साथ तमु (गुरुङ) हरूको महान पर्व तमू ल्होछार मनाउने भएको छ । ३० डिसेम्बर २०२४ का अल्डरसटस्थित बीसीसी गुम्बामा ल्होछार मनाउन लागेको हो ।
नेपालबाट आमन्त्रित धर्मगुरु लामा गुप्ती गुरुङको विशेष उपस्थितिमा ल्होछार कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा दीप प्रज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, छोग, घनचक्र पूजा गरिनेछ । ल्होछारका दिन आमन्त्रित लामा गुप्ती गुरुङ, खेन्पो छेवाङ्ग, बीसीसी यूकेका खेन्पो शेनाङ्ग, लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङलगायत धर्मगुरुले पूजापाठ गर्ने छन् ।
विश्वभर रहेका गुरुङहरूले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई विशेष महत्वका साथ लिने गर्छन् । सोही अनुरुप यसवर्ष गिद्ध वर्गको बिदाइ गर्दै सर्प वर्गको स्वागत गर्न लागिएको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देब घलेले जानकारी दिए ।
कार्यक्रममा तमू धीं यूके, मगर संघ यूके, तामाङ सोसाइटी यूके, थकाली समाज यूके, ह्योल्मो समाज यूके, रङजुङ येशे उडियना सेन्टर, एनआरएनए यूके, शेर्पा एसोसिएसन यूके, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लन्डन ब्रान्च, बीसीसी यूकेका ट्रस्टी मेम्बर्सलगायत संघसंस्थालाई आमन्त्रण गरिएको छ ।
बिहान ८ देखि साँझ ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा नयाँ लुंदा फेरिने भएको हुँदा साथमा सत्क्यु–पत्क्यु र नाङ्ग काटेर उक्त दिन बिहान ११ बजेभित्र गुम्बामा ल्याइदिन पनि बीसीसी यूकेले अनुरोध गरेको छ ।
निःशुल्क चियापान, खाजा र खानाको समेत व्यवस्था गरिएको सो कार्यक्रमका लागि भोजन दान र दीप प्रज्वलन गर्न चाहने भक्तजनले गुम्बामा सम्पर्क गर्न सक्नेछन् ।
बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न हुन लागेको ल्होछार कार्यक्रम सफल बनाउन बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङलगायत आमाहरू, पूर्वअध्यक्ष तथा पूर्व आमाप्रमुख तथा सल्लाहकारले जिम्मेवारी लिएको संयोजक क्याप्टेन घलेले जनाए ।
साथै, उनले उक्त दिन आयोजना हुने धार्मिक पूजापाठमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा अनुरोधसमेत गरेका छन् । बीसीसी युकेले तमू ल्होछार, सोनाम ल्होछार, ग्याल्पो ल्होछारलगायत कार्यक्रममा पूजापाठ गर्दै आएको छ ।