रेडिङ । रेडिङ तमु समाज यूकेले गुरुङहरूको महान् सांस्कृतिक पर्व तमु ल्होसार भव्य रूपमा मनाएको छ ।
साउथ रेडिङ कम्युनिटी सेन्टर नर्थम्बरल्यान्डमा गत शनिबार २१ डिसेम्बर २०२४ मा विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसहित ल्होछार मनाएको हो । रेडिङबासी तमुहरूको एकता, समाजका सबै सदस्यहरूको सक्रियता, सहयोग र सहभागिताले ल्होसार कार्यक्रम भव्य बनेको समाजका अध्यक्ष देब गुरुङले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि तुमु धीं यूकेका अध्यक्ष हरि गुरुङ तथा उनकी धर्मपत्नी, प्रमुख अतिथि तमु प्ये ल्हु संध यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरूङ तथा उनकी धर्मपत्नी, संस्थापक अध्यक्ष प्रेम गुरुङ, पूर्वअध्यक्ष तथा सल्लाहकार, स्थानीय संघसांस्थाका पदाधिकारी तथा प्रतिनिधिका साथै अन्य गण्यमान्य व्यक्तिको उपस्थिति थियो ।
कार्यक्रम सफल हुनुमा सबै सहभागीको विशेष योगदान रहेको भन्दै अध्यक्ष गुरुङले सहभागी सम्पूर्ण सदस्यलाई धन्यवाद दिएका छन् ।
आफ्नो भेषभूसा, भाषा, कला, संस्कृति र संस्कारको संरक्षण तथा संवर्द्धनमा सहयोग पुर्याउन समाज सधैँ तत्पर रहेकोसमेत अध्यक्ष गुरुङले जनाएका छन् ।
‘बेलायत जस्तो परदेशमा पनि हाम्रो आफ्नो नेपालीपनलाई भावी सन्ततिका लागी जगेर्ना गर्नु पर्छ भन्ने मान्यता र प्रतिबद्धताका साथ अघि बढिरहेको अवस्था छ । तसर्थ सबैको साथ र हौसला जरुरी छ,’ उनले भनेका छन् ।