फार्नबोरो। पञ्चासे हर्पनडाँडा समाज यूकेको पाँचौँ वार्षिक साधारणसभा शनिबार २१ डिसेम्बरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवकाजी गुरुङको अध्यक्षतामा विश्व ध्यान दिवस मनाउँदै गोर्खा भवन, फार्नबोरोमा साधारणसभा भएको हो । कार्यक्रम विश्व ध्यान दिवसलाई केन्द्रित गरेर सुरुआत भएको थियो । ओशो सन्न्यासी प्रकाश स्वामीले चक्र र लाफिङ्ग मेडिटेसन गराएर समाजका सदस्यहरूलाई स्वास्थ्य लाभ गराएका थिए ।
ध्यानपश्चात् हालसालै देहान्त भएका समाजका आफन्तजनहरूको सम्झनामा एक मिनेट मौनधारण गर्दै चीरशान्तिको कामाना गरियो । त्यसपछि सभाको सुरुआत भएको थियो । उपाध्यक्ष रवि गुरुङले स्वागत मन्तव्य राखेका थिए । कोषाध्यक्ष कृष्ण घलेले आयव्यय विवरण प्रस्तुत गरे । प्रकाश गुरुङले नेपाल बैंकमा भएको खाता विवरण प्रस्तुत गरेका थिए ।
सहकोषाध्यक्ष देव घले, सांस्कृतिक संयोजक खुशीमान गुरुङ तथा सहसंयोजक दिल गुरुङ, वेब संयोजक कृपा गुरुङ, चार गाउँका प्रतिनिधिहरू यामबहादुर गुरुङ, रुद्रकाजी गुरुङ, किरण गुरुङ, जगन गुरुङ, निर गुरुङ र राजन गुरुङले आ-आफ्नो छोटो मन्तव्य राखेका थिए । प्रमुख सल्लाहकार डमरकाजी गुरुङ, सल्लाहकारहरू रनबहादुर गुरुङ, मोन गुरुङ, आमा टोलीबाट गीता गुरुङ, शोभा गुरुङ, सरस्वती गुरुङ, विनीता गुरुङ र ध्रुव गुरुङले पनि छोटो मन्तव्य राखेका थिए । मे. देव गुरुङ एमभीओ, हुमान गुरुङ, सुक गुरुङ आदिले पनि समाजको प्रगतिको कामना गरेका थिए ।
अध्यक्ष देवकाजी गुरुङले आफ्नो कमिटीले पुर्याएको योगदानको प्रशंसा गर्दै सम्पूर्णलाई धन्यवाद दिए । ‘समाजलाई दीर्घकालसम्म सक्रिय राख्नलाई जोसँग जे क्षमता छ, त्यहीले सहयोग गरेर अघि बढ्नु पर्दछ। सानो चार गाउँको समाज भएता पनि हाम्रो परोपकारी क्षेत्रमा निकै अगाडि छ । यो श्रेय सबै सदस्यहरूकै सक्रियताले भएको हो,’ अध्यक्षले भने । उनले तीन वर्षको कार्यकाल सकिएको घोषणा पनि गरे।
कार्यक्रमको अर्को चरणमा नयाँ कार्यसमिति चयन भएको थियो । निर्वाचन आयुक्तद्धय डमरकाजी गुरुङ र मोन गुरुङले नयाँ समिति चयन गराउने भूमिका निभाएका थिए । सर्वसम्मतबाट पुनः पुरानो कार्य समितिलाई नै आउने तीन वर्षका लागि नियुक्ति गरियो ।
नयाँ कार्यकालका लागि चयन भएको कार्यसमितिको अध्यक्षमा देवकाजी गुरुङ, उपाध्यक्ष रवि गुरुङ, महासचिव प्रकाश गुरुङ, कोषाध्यक्ष कृष्ण घले, सहकोषाध्यक्ष देव घले, सांस्कृतिक संयोजक खुशीमान गुरुङ, सहसंयोजक दिल गुरुङ, गाउँका प्रतिनिधिहरू यामबहादुर गुरुङ, दिलबहादुर गुरुङ, रुद्रकाजी गुरुङ, प्रेम गुरुङ, किरण गुरुङ, जगन गुरुङ, राजन गुरुङ, अशिष गुरुङ, खुशीमान घले, डमर घले चुनिएका छन् ।
केही रिक्त रहेका पदहरू कार्यसमितिको छलफलबाट पूरा गरिने जानकारी गराइएको छ । कार्यक्रम संस्थाका महासचिव प्रकाश गुरुङले सञ्चालन गरेका थिए ।