म आफ्नै खोजीमा छु
वर्षौंदेखि हराइरहेको
मेरो सपनाहरूको बथान,
कुनै अँध्यारो कुनामा
कोच्चिएको मेरो स्वाभिमान
खै कता छ ?
म आज खोजीमा छु
कतै उत्पात वर्षातले चुट्यो कि
कतै निर्घात असिनाले कुट्यो कि
कतै दंभले मत्ता भएको धमिलो
खहरेले सोहोऱ्यो कि
कतै भयानक आँधीले लताऱ्यो कि
डाहको हुरीले हुर्याएर पछाऱ्यो कि
खै कता पुग्यो मेरो स्वाभिमान
मेरा ती सपनाहरू
म आज खोजीमा छु ।
नजानिँदो सङ्कोचहरूले
टाउको माथि टेकिदिँदा
नसोचेको जटिल सोचहरूको
निर्घात पाइलाहरू
हरबखत्, समय बेसमय
छातीमाथि टेकिदिँदा
जे हेर्न र देख्न खोज्छु
ती सबै पिरो धुँवाले छेकिदिँदा
म हारेसरह भइसकेछु
मुटु चल्दाचल्दै मरेसरह भइसकेछु,
तर आज निद्राबाट ब्युझेजस्तै
मेरा आशाका त्यान्द्राहरू
अचानक जुर्मुराएका छन्
मर्दै गरेको आशाको बिरुवा पनि
आज बौरिएका छन्
त्यसैले त म आज खोजीमा छु
मेरो स्वतन्त्रको खोजीमा छु
आफू मान्छे भएकोमा
आफ्नै स्वअस्तित्वको र मेरो
स्वाभिमानको खोजीमा छु
जीवनको सपनाहरूको खोजीमा छु
कहिल्यै नथाक्ने गरी निरन्तर
म आफ्नै खोजीमा छु ।