लन्डन । तमुधीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले संस्थाको हितविपरीत कुनै काममा सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा धन्यवाद तथा आभार सन्देश जारी गर्दै अध्यक्ष गुरुङले तमुधींको हितलाई सर्वोपरी ठान्ने बताएका हुन् । 'तमुधींको हितलाई सर्वोपरी ठान्ने छु । तमुधींको हितविपरीत कुनै काममा सम्झौता गर्ने छैन । सदाझैं हजुरहरुको साथ र सहयोग पाउने कुरामा विश्वस्त छु,' उनले लेखेका छन् ।
अध्यक्ष गुरुङले आफ्नो चरित्र काममा केन्द्रित हुने रहेको उल्लेख गरेका छन् । 'सबैको आ-आफ्नो चरित्र हुन्छ । बोल्ने कुरामा भन्दा काममा बढी केन्द्रित हुने मेरो चरित्र रहेको छ । त्यसैले म काममा नै केन्द्रित रहने छु,' उनको भनाइ छ, 'मेरो कार्यकालमा यहाँहरुको राय, सुझावलाई लिएर अगाडि बढ्ने छु ।'
उनले संस्थाको सानलाई अझै उच्च बनाउन प्रयत्न गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । आफूलाई अध्यक्षमा निर्वाचित गराएकोमा आभार प्रकट गर्दै उनले संस्थाको विशाल मान र सानलाई अझै उच्च बनाउन हरकिसिमले कोसिस गर्ने बताएका छन् । 'तमुधीं यूके जातीय संस्था भए पनि यसले गरेको क्रियाकलापहरु गोर्खा कप, नेपाली मेला, आजीवन सदस्य रात्रिभोज, डा हर्क गुरुङ र डा चन्द्र गुरुङ स्मृति साँझ, तमु प्रतिष्ठान छात्रवृत्ति अक्षयकोष संकलन कार्यक्रम र तमु ल्होछार आदिले गर्दा यो संस्थाले परोपकारी संस्थाको रुपमा आफ्नो परिचय बनाएको छ । बाढी, पहिरो, भूकम्प, आगलागी र कोरोनापीडितहरुलाई गर्दै आएको सहयोगले संस्थाले आफ्नो परिचय अग्लो र सग्लो बनाएको छ,' अध्यक्ष गुरुङले फेसबुकमा लेख्नुभएको छ, 'संस्थाको यस्तो विशाल मान र सानलाई अझै उच्च बनाउन हरकिसिमले कोसिस गर्ने छु ।'
उनले आफूलाई तमुधींको अध्यक्ष पदमा चुनेर अवसर दिएकोमा तमुधीं यूकेको १२ औं कार्यसमितिका अध्यक्ष हरि गुरुङलगायत कार्यसमितिको पदाधिकारी र सदस्यहरु, आमा समूहकी अध्यक्ष सन्ध्या गुरुङलगायत कार्यसमितिको पदाधिकारीहरु र सदस्य रु, सस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलगायत संस्थापकहरु, पूर्वअध्यक्षहरु, एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ र पुनम गुरुङहरु र आईसीसी सदस्यद्वय, तमुधीं यूकेका ट्रस्टिजहरु, सल्लाहकारहरु, एकाईका अध्यक्षहरु, आजीवन सदस्यहरु, विभिन्न संघ संस्थाका अध्यक्षहरुलगायतलाई धन्यवाद दिएका छन् ।
यस्तै २०२४ डिसेम्बर १४ का दिन भएको तमुधीं युकेको महाधिवेशनको लागि चयन भएको निर्वाचन समिति संयोजक एकेन्द्र गुरुङ र सहसंयोजक मेरि कृष्णबहादुर गुरुङ, उपस्थित सबै तमु, तमुस्योहरु र पत्रकारहरु पनि धन्यवाद प्रकट गर्नुभएको छ । 'यहाँहरुले मलाई गौरवशाली संस्था तमुधीं युकेको गरिमामय अध्यक्ष पदमा म र मेरी जीवन संगिनी कमलादेवी गुरुङलाई आमा समूह अध्यक्षमा निर्विरोध निर्वाचित गर्नुभएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं,' उनले स्टाट्समा लेखेका छन् ।