म कुनै राजनैतिक दलको सदस्य थिइनँ र छैन, तर नेपाली कांग्रेसको गतिविधिहरुलाई अलि नजिक र अलि बढी आलोचनात्मक रुपमा हेरिरहेको हुन्छु । यस्को मुख्य कारण यही हो कि यस दलले डेमक्रेसीको लागि २००७ र २०४६ को आन्दोलनमा अगुवाई गरेको थियो । जस्मा २००७ ले अउटक्रटिक राणा शासन र २०४६ले एब्सलुट राजतन्त्रलाई बिदाई गरेको थियो ।
यसर्थ, कांग्रेसको हिजोलाई हेर्दा डेमक्रेसीमा विश्वास राख्ने मेरो पुस्ताका धेरै नेपालीहरुले अझै पनि कांग्रेसलाई केही सहानुभूतिपूर्वक नै हेर्ने गर्छन् । यस मामलामा कम्युनिज्ममा नै आस्था राख्ने ब्यक्ति र दलहरुले पनि कांग्रेसलाई मान्ने गरेको देख्छुँ म ।
हिजोको कांग्रेसमा नेपाल र नेपाली जनताप्रति एक पर्पोज, आदर्श र भिजन थियो। त्यसैले यस दलका हिजोका नेतृत्वहरु कम्पिटेटिभ पलिटिक्सका साथै भ्याल्यु बेस्ड पलिटिक्स पनि गर्थे । त्यही भ्याल्यु बेस्ड पलिटिक्सको कारण होला, बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई मेरो पुस्ताले आज पनि सम्मानपूर्वक हेर्ने गर्छन्।
क्याम्पस जीवनमा केही पटक मेरो गणेशमान र धेरै पटक कृष्णप्रसाद भट्टराईसँग साक्षात्कार र वार्तालापहरु भए । (त्यो बेला मनमोहन अधिकारीका कुराहरु पनि चाखपूर्वक सुन्थ्यौं हामी । २००७ को राजनैतिक परिवर्तन होस् वा २०४६ को, तत्कालीन केही कम्युनिस्ट दलहरुले पनि आ-आफ्नो ठाउँबाट राम्रो देन दिएका थिए । ती दलहरुमध्येका एक प्रमुख नेता थिए मनमोहन अधिकारी पनि ।) शायद, यी राजनैतिक नेताहरुको नेपाल र नेपालीहरुप्रतिको पर्पोज, आदर्श तथा भिजनहरुबाट नै होला हामी सहजै तानिन्थ्यौं उनीहरुको कुरातिर ।
बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईका पुस्ताका अन्य अधिकांश नेता र कार्यकर्ताहरु पनि यस्तै थिए ।
म काठमाडौंमा रहँदा यस पुस्ताका ती केही नेता र कार्यकर्ताहरु- जो यी तिनै नेताहरुसँग प्रवासमा होस् या नेपालमा एकसाथ काम गरिरहेका थिए - सँग मेरो बसउठ भएको थियो । नेपाली राजनीतिको इतिहास र कांग्रेसको त्यो हिजो मैले यिनै नेताहरु र मूर्धन्य व्यत्तित्वहरुबाट प्रत्यक्षरुपमा सुन्ने र बुझ्ने अवसर पाएको थिएँ। साथै, स्कूल र कलेज जीवनमा मैले पढेका नेपालको राजनैतिक इतिहासले पनि नेपाली कांग्रेस तथा अन्य कम्युनिस्ट पार्टीहरुमात्र होइन राणाशासन र पन्चायतकालीन नेपालको बारेमा पनि जानकारी गराएको थियो ।
जब म लण्डन आएँ, तिनै मूर्धन्य व्यक्तित्वहरुमध्येका एक व्यक्तित्व -- जसले काठमाडौंको आफ्नो परिवार र त्यत्रो पारिवारिक सम्पत्ति त्यागेर बीपी, गणेशमान र कृष्णप्रसादसँगै लामो समय भारतमा निर्वासित जीवन बिताउन परेको थियो -- को परिवारसँग मेरो सामिप्यता भयो । त्यो परिवारमार्फत ती मूर्धन्य व्यक्तित्वहरुले गरेको त्याग, संघर्ष र देनका कुराहरु सुन्दा त म अझ चकित बनेको थिएँ । ती मूर्धन्य नेताहरु र कार्यकर्ताहरु हिजोको कांग्रेस दर्शाउने उदाहरणहरु थिए।
खैर, हिजोको त्यो कांग्रेस र यसको गरिमा २०४६ पछि मैले हेर्दाहेर्दै क्रमशः क्षयीकरण हुँदै गयो । फलस्वरुप, गणेशमान र कृष्णप्रसादमात्र होइन मैले अगाडि उल्लेख गरेका कांग्रेसका ती सबै मूर्धन्य व्यक्तिहरुले कांग्रेस दल नै त्यागिदिए ।
हिजोको गरिमायुक्त त्यो कांग्रेस २०४६ पछि यसरी क्षयीकरण हुँदै जानुमा मुख्य कारणहरु यी लाग्छन् मलाई :
पहिलो, गणेशमानको २०४६ को आन्दोलनपछिको अन्तरिम मन्त्रीमण्डलमा प्रधानमन्त्री बन्ने प्रस्तावलाई अस्वीकार गरी कृष्णप्रसादलाई त्यो पदको लागि प्रस्ताविक गर्नु ।
धेरै नेपालीहरुले गणेशमानको यो कदमलाई त्यागको रुपमा हेर्छन् र सम्मान गर्छन् । भारतमा महात्मा गान्धीले पनि यसै गरेका थिए । यद्यपि भारत र नेपालका यी कन्टेक्स्टहरु फरक थिए ।
गान्धीले विदेशीबाट आफ्नो देशलाई स्वतन्त्र बनाउन नेतृत्व गरेका थिए भने गणेशमानले आफ्नै देशको निर्दलिय पञ्चायती व्यवस्था सहितको सक्रिय राजनीतिक राजनीति प्रणालीलाई बहुदलीय संवैधानिक राजनीतिक प्रणालीमा बदल्न २०४६को शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेका थिए।
गणेशमानले शायद कृष्णप्रसादलाई त्यो प्रधानमन्त्री पदको लागि त्यसबखत आफूभन्दा बढी उपयुक्त पात्र ठानेका पनि हुन सक्छन्, तर मलाई लाग्छ, नेपाली कांग्रेसको क्षयीकरणको सुरुआत नै त्यही बिन्दुबाट भयो किनकि गणेशमानको 'रेफरेन्ट पावर' नेपाली कांग्रेसभित्र पोजिसनल पावरभन्दा क्रमशः कमजोर बन्दै गयो।
अन्ततः राजनीति पावरको नै गेम हो। उनको रेफरेन्ट पावर र गिरिजाप्रसाद कोइरालाकोकांग्रेसभित्रको पोजिसनल पावर बीचको कन्फ्लिक्टले क्रमशः कांग्रेसलाई नेपालको राजनीतिमा कमजोर बनाउँदै गयो ।
गणेशमानको नेनृत्वमा भएको २०४६को कांग्रेस सहितको सात वाम मोर्चाको आन्दोलनले नेपालको राजनैतिक रुपान्तरणमा सफलता पायो। त्यसपछि भने नेपालमा आर्थिक र सामाजिक रुपान्तरणको जरुरी थियो, यो कुरा खासगरी गणेशमानले राम्रोसँग बुझेका थिए र यसको सुरुवाती नेनृत्व पनि उनैले लिनुपर्थ्यो भन्ने ठान्छु म । यसका केही मिल्दो उदाहरणका लागि दक्षिण अफ्रिकाको नेल्सन मन्डेलाले लिएको सरकारको सुरुवाती नेतृत्वलाई लिन सकिन्छ।
दोस्रो, २०४६ पछिको पहिलो बहुदलीय संसदीय चुनावमा कृष्णप्रसाद भट्टराईको अनपेक्षित हार हुनु र गिरिजाप्रसाद कोइरालाजस्ता उच्च महत्वाकांक्षी व्यक्तिको नेपाली कांग्रेसमा एकछत्र उदय हुनु पनि नेपाली कांग्रेसको लागि घाटा थियो, जसले नेपालको राजनीतिलाई अहिलेको अवस्थामा ल्याइपुर्यायो ।
कांग्रेस दलभित्र गिरिजाप्रसाद र गणेशमान-कृष्णप्रसाद बीचको कलहले गिरिजाप्रसादले आफ्नो दलको संसदमा बहुमत हुँदाहुँदै मध्याबधि चुनावको घोषणा गरे। त्यो मध्याबधी चुनावमा नेपाली कांग्रेस दोस्रो ठूलो दलमा सीमित हुन पुग्यो। गिरिजाको यो मध्याबधिमा जाने निर्णयले कांग्रेस दललाई त घाटा पुग्यो नै, नेपालको राजनीति र नेपाललाई नै दीर्घकालीन रुपमा नकारात्मक असर पार्यो ।
ती नकारात्मक असरहरुमध्ये यी दुई मुख्य लाग्छन् मलाई । एउटा, यो मध्यावधी पुष्पकमल दाहाल र बाबुराम भट्टराईजस्ता अर्का उच्च महत्वाकांक्षी व्यक्तिहरुको लागि हिंसात्मक द्वन्द्वमा भूमिगत बन्ने बहाना बन्यो । उनीहरुको यो १० वर्षे द्वन्द्वले यी दुई — दाहाल र भट्टराई र माओवादी दलका शीर्ष नेतृत्वलाई राज्यका शक्तिशाली पदमा पुर्यायो; तर नेपालले धेरै जनधनको क्षति बेहोर्नुपर्यो । माओवादीका तत्कालीन गरीबि र बिभेदका एजेन्डाहरु सहि थिए तर डेमक्रटिक अभ्यास भइरहेको बेला उनीहरुले यसरी सशस्त्र युद्धको बाटो रोज्नु गलत थियो। नेपालका क्षमतावान युवाहरुले नेपाल छोड्ने क्रम पनि यहीबाट बढेको हो ।
अर्को, यो मध्यावधी पछि, कोअलिसन सरकार बन्नुपर्ने अवस्था सिर्जना भयो र साना दलहरुले च्याखे थाप्ने परम्पराको सुरुवात भयो । फलस्व़रुप, कांग्रेस र एमाले जस्ता ठूला संसदीय राजनीतिक दलहरु देश र जनताको एजेन्डामा फोकस हुनुभन्दा सरकार बनाउने र भत्काउने खेलमा लाग्न थाले । ती संसदीय राजनैतिक दलहरु यस्तै खेलहरुमा लाग्दा भूमिगत माओवादीतिर गम्भिर भएनन्, जस्को भरपुर फाइदा माओवादीले उठाए। माओवादीहरु नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले र राजाको शक्तिलाई कमजोर बनाउन सफल भएका थिए।
अन्ततः २०६५ सालमा नेपाल गणतान्त्रिक मुलुक बन्यो र पुष्पकमल दाहाल नेपाली राजनीतिको ड्राईभिङ्ग सिटमा आइपुगे। वैदेशिक चलखेल पनि छँदै नै थियो। अनि, नेपाली कांग्रेस, पुष्पकमल र उनको एजेन्डा बोकेर हिँड्न बाध्य भयो ।
नेपाल गणतान्त्रिक मुलुक बन्नमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको कदम (उनले एक संवैधानिक राजा भएर बस्नुभन्दा राज्यसत्ता हातमा लिन चाहे; खासगरी राजा वीरेन्द्रको वंशनासपछि राजसंस्थाप्रतिको नकारात्मक जन-मनोविज्ञान र विकसित भइरहेको भूराजनीतिलाई बुझ्न सकेनन् उनले।) र गिरिजाप्रसादको नेपालको पहिलो रास्ट्रपति बन्ने उच्च महत्वकांक्षाले पनि मुख्य भूमिका खेल्यो भन्ने लाग्छ मलाई ।
पहिलो रास्ट्रपति बन्ने उच्चमहत्वाकांक्षामा गिरिजाप्रसादले बीपी, गणेशमान र कृष्णप्रसादहरुको संवैधानिक राजतन्त्रको सिद्धान्तलाई तिलान्जली दिए र, मलाई लाग्छ, कांग्रेसको कन्जरभेटिभ र रास्ट्रवादी धारलाई निकम्मा पारिदिए । त्यसपछि,नेपाली कांग्रेस अहिलको अवस्थामा क्षयीकरण हुँदै गएको तेस्रो कारण चाहिँ मलाई लाग्छ शेरबहादुर देउवाको सत्तालिप्सा नै हो ।
देउवाले रूखका जन्मजात भोटर्सलाई पनि माओवादीको हँसिया हथौडामा भोट गर्न विवश बनाइदिए। देउवाको यो कार्य माओवादी द्वन्द्वद्वारा मारिइएका, घाइते बनाइएका नेपाली कांग्रेसका नेता-कार्यकर्ता तथा भोटर्स र उनीहरुका परिवारप्रतिको अपमान थियो । देउवाका समर्थन गरेर निजी लाभ पाइरहेका नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरु यो मान्न तयार छैनन्, तर देउवाले नेपाली कांग्रेस दललाई भने गिरिजाप्रसादले भन्दा बढी ड्यामेज गरिदिएका छन् भन्ने ठान्छु म।
नेपालको डेमक्रटिक आन्दोलनमा देउवाले दिएको देनको म अबमूल्यन गर्दिनँ, तर देउवासँग अब कति पटक प्रधानमन्त्री बन्ने भनेर गन्ती गर्ने र राम्रोलाई होइन आफ्नो मान्छेलाई कसरी कांग्रेसको बिरासत बुझाउने भन्ने चिन्ता मात्र देख्छु म, जुन गिरिजाप्रसादसँग पनि थियो । देउवासँग न नेपाल बनाउने भिजन, एजेन्डा र आदर्श बाँकी छ अब; न त नेपाली कांग्रेस ।
हाल नेपालका कलेज र विश्वविद्यालयमा अध्ययन गरिरहेका धेरै युवाहरु (खासगरी मध्यम तथा निम्न आर्थिक आय भएका परिवारका) सँगको मेरो अनौपचारिक कुराकानीहरुमा उनीहरु देउवा र त्यो पुस्ताका राजनैतिक नेताहरु -- जो विगत ३५ वर्षदेखि राज्यसत्ता वा राज्यसत्ताको वरिपरी छन् -- सँग निक्कै क्रुद्द भएको पाउँछु म । यी युवाहरु देउवा पुस्ताका यी पुराना नेताहरुले नेपालमा आफ्नो भविष्य अन्धकार बनाइरहेको महसुस गर्छन्।
चौथो, नेपाली कांग्रेसको आफ्नो संगठनात्मक नीति र प्रणाली अहिलेको समयका लागि उपयुक्त छैन। यस दलले आफ्नो सभापतिलाई यति शक्तिशाली बनाएको छ कि सभापतिको चाहना विरुद्ध अन्य पदाधिकारीले केही गर्नै सक्दैनन्। यसले सभापतिलाई ईन्सटिच्युसनल डिक्टेटर बनाएको छ, जसका कारण नेपाली कांग्रेस भित्रका मेधाबी पदाधिकारीहरु आफै यो दलबाट पाखा लाग्नुपर्ने परिस्थिति पैदा भएको छ। यस दलका वर्तमान दुई युवा महामन्त्रीहरु -- जसले त्यति धेरै मतका साथ अघिल्लो महाधिवेशनमा यी पदहरु जितेका थिए -- को दलभित्रको निरिहताले पनि यही प्रमाणित गरेको छ ।
त्यसमाथि, नेपाली कांग्रेसभित्रको 'दाइ कल्चर' पनि यस दलको ट्यालेन्ट डेभलभमेन्टमा बाधक बनेको देख्छु म । यस दलभित्रको यस्ता संगठनात्मक नीति, प्रणाली र कल्चरले, एकातिर, युवाहरुहरुको नेतृत्व विकासमा बाधा पुर्याउनु मात्र होइन, उनीहरुलाई स्वछन्द रुपमा अगाडि देखिन पनि बाधा पुर्याएको देख्छु म। अर्कोतिर, नेपाली कांग्रेसका युवा नेताहरुमा अध्ययनशीलताको कमी छ। खासगरी, उनीहरुको भिजन र पलिसीहरुमा केही नयॉपन देखिँदैन, उही पुराना नेताहरुले झै सतही कुराको सुगारटानमा ब्यस्त देखिन्छन् उनीहरु ।
अनि, पुराना जेनेरेसनका नेताहरु त अहिलेको एआई पुस्ताका युवासँग डिट्याच्ड छन् नै; यस दलका युवा नेताहरुको पनि खासै कनेक्सन देख्दिनँ म । यी एआई जेनेरेसनको आम युवासँग। नेपाली कांग्रेस क्षयीकरणको यो पाँचौ कारण हो ।
छैठौं, नेपाली कांग्रेस दल र यस्का नेताहरुमा अब गान्धीवाद, बीपीवाद, गणेशमानवाद वा कृष्णप्रसादवाद बाँकी रहेन । न त यो दलसँग साँचो अर्थमा समाजवादको कुनै हिस्सा नै बाँकी देखिन्छ अहिले । यस दलका अधिकांश शीर्ष नेताहरुमा अहिले कुनै भ्याल्यु, आदर्श र देश र जनताको एजेण्डाभन्दा पनि पदलिप्सा, पैसालिप्सा र भ्रष्टाचारप्रतिको लिप्तता प्रस्ट देखिएको छ । खासगरी २०४६ पछि, गिरिजाप्रसादले नेपालमा भ्रस्टाचारलाई संस्थागत गरिदिए भन्ने धेरैको विचारसँग म सहमत छु ।
साथै,गणतन्त्रको आगमनपछि नेपाली कांग्रेस राजनैतिक एजेन्डाको रुपमा कुहिरोको काग बनिरहेको पाउछुँ म । अनि, प्रदिप गिरिको अवसानपछि गहन वैचारिक बहस गर्नसक्ने क्षमतावान नेताको पनि अभाव देखिएको छ यो दलभित्र।
अझ, २०४६ पछिको कांग्रेसले नेपालको डेमक्रटिक संस्थाहरुलाई मजबुत बनाउँदै लानुपर्नेमा पनि या त धराशायी बनाउन लागिपर्यो या धराशायी बनाइएको टुलुटुलु हेरिरह्यो। उदाहरणको लागि, यस दलले २०४६ पछि नेपालको प्रहरी प्रशासनलाई राजनीतिकीकरण गरेर ध्वस्तप्रायः गरिदियो। प्रहरी हुन वा ब्यूरोक्रेसी, संवैधानिक निकाय हुन् वा अन्य; मेरिटोक्रसीमा होइन, राजनैतिक दलहरुको भागबन्डामा चलाइएको देखिन्छ अहिले । यसले गर्दा, दक्ष र ईमान्दार जनशक्तिलाई आफ्नो आर्थिक सर्भाईबलको लागि पनि दल वा दलका नेताहरुको पछि लाग्नैपर्ने बाध्यात्मक वातावरणको सिर्जना गरिएको छ । फलस्वरुप, यस्ता क्षमतावान जनशक्तिहरु विदेश पलायन हुनेक्रम तीव्ररुपमा बढ्दो छ। अहिलेका युवाहरुको लागि नेपाल झन्झन् अनाकर्षक बन्दै गइरहेको देख्छु म।
२०४६ पछि नेपाली कांग्रेसले निजी क्षेत्रमा गरेको विकास भने राम्रो थियो, तर निजी क्षेत्रमा विकास गर्ने नाउमा शिक्षा र स्वास्थ्यजस्ता पब्लिक सेक्टरको विकासमा भने खासै ध्यान दिएन । पब्लिक सेक्टरको विकासबिना प्राईभेस्ट सेक्टरको मात्र विकासले कुनै पनि देशको विकास र समृद्धिको कल्पनै गर्न सकिँदैन । २०४६ पछिको नेपाली कांग्रेस यसमा जानेर वा नजानेर नराम्रोसँग चुक्यो । यस दलले गरेको यस्ता क्षतिको मूल्य मलाई लाग्छ नेपालले लामो समयसम्म चुकाईराख्नुपर्नेछ। यस्को दोष मुख्यतः मैले २०४६ पछिको नेपाली कांग्रेसलाई नै दिएको छुँ ।
यति हुँदाहुँदै पनि, नेपाली जनताले नेपाली कांग्रेसलाई अझै पनि डेमक्रेसीको केही धङधङी बाँकी भएको एक ऐतिहासिक दलको रुपमा नै हेरेको र अर्को मास्ड-बेस्ड दलको पनि नेपाली राजनीतिमा उत्पन्न भइनसकेको हुँदा नेपाली कांग्रेसको राजनैतिक बजार भने समाप्त भइसकेको देख्दिनँ म, तर यस दल र कम्तीमा यसका युवा नेता-कार्यकर्ताहरुले आफ्नो गतिविधि र भोलिको मार्गमा भने परिवर्तन गर्नैपर्छ।
यसरी परिवर्तन गरिनुपर्ने मार्गमा यस दलभित्र गहन छलफल र बहस हुन नितान्त जरुरी छ । यी छलफल र बहस मेरो विचारमा कम्तीमा यस्ता कुराहरुमा केन्द्रित हुनुपर्छः
एक, नेपाल र नेपाली जनतालाई आगामी दिनमा कहाँ पुर्याउने विषयमा यस दलको राजनैतिक, आर्थिक र सामाजिक भिजन, एजेण्डा र पलिसी के हो भन्ने कुरामा यो दल र यस्का नेताहरु स्पस्ट हुनुपर्छ र जनतालाई पनि स्पस्ट बनाउनुपर्छ । उदाहरणको लागि, यो दलमा डेमक्रटिक सोसिअलिज्मको कुनै अंश खासै बाँकी देखिँदैन अहिले । फेरि, एकातिर, यस दलका नेताहरु सोसिअलिज्म उन्मुख संविधानको जोडले डिफेण्ड गरिरहेको देख्छु म भने; अर्कोतिर, उनीहरुको ब्यक्तिगत आचरण र ब्यवहार भने पूर्णतः क्यापिटालिस्ट र निओ-लिबरल छ।
साथै, कहिलेकाही यस्का केही नेताहरुले 'थर्ड वे' अर्थात् 'सेन्ट्रिस्ट पलिटिकल पोजिसन' को वकालत गरिरहेको पाउछुँ म — अमेरिकाका पूर्वरास्ट्रपति बिल क्लिन्टन र बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेएरले अडप्ट गरेझैं — तर यी कांग्रेसका नेताहरुमा यस्ता कुराहरुमा पनि कुनै कन्सिस्टेन्सी देखिँदैन; न त यो उनीहरुको ब्यक्तिगत आचरण र व्यवहारमा नै लागू छ।
दुई, आफ्नो दलको कोर भ्यालु निश्चित गर्नुपर्छ; कम्तीमा नेपाली कांग्रेसको चार ताराको भ्याल्यूलाई भिजन, एजेण्डा र पलिसीमार्फत रिभाईभ गर्नुपर्छ। यदि यी भ्याल्यूहरु वर्तमान नेपालसँग समय सापेक्षित छैन भने, विकल्पको खोजी गरिनुपर्छ । र, कम्पिटिभ पलिटिक्स अभ्यास गर्दा यस दलका कुनै पनि नेताहरुले आफ्नो दलको कोर भ्यालुमा जतिसुकै विषम परिस्थितिमा पनि सम्झौता गर्न हुन्न।
तीन, त्यो भिजन प्राप्ति र भ्याल्यू-बेस्ड पलिटिक्सको लागि कांग्रेसले आफ्नो दलगत स्ट्रक्चर, प्रणाली र कल्चरमा पनि सकेसम्म चाँडो आमूल परिवर्तन गर्नैपर्छ ।
अनि, ब्यक्ति समायोजनको लागि दलभित्र मल्टिपल पद क्रिएट गर्ने प्रथाको अन्त्य गरिनैपर्छ । साथै, दलभित्रको अनुशासन मेकानिज्म र कारबाही गर्ने सवालमा पनि एकरुपता कायम हुनुपर्छ ।
चार, दलभित्रका आर्थिक फन्डिङ्गका साथै अन्य गतिविधिहरु साँच्चिकै डेमक्रटिक, ओपन र ट्रान्सपरेन्ट बनाइनुपर्छ।
निश्चय नै, आर्थिक श्रोतबिना कुनै पनि राजनैतिक दल चल्न सक्दैन, तर अर्थ संकलनलाई नै मुख्य स्थानमा राखेर दलको 'कोर' भ्याल्यू र यो भ्याल्यू क्यारी गर्ने यस्का नेता-कार्यकर्ताहरुलाई भने 'किल' गर्न हुन्न । नत्र, नेपालमा यस्ले अन्ततः भ्रस्टाचार नै बढाउने हो।
पाँच, दलका पदीय निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ, जसले नयॉ जेनेरेसनका ट्यालेन्टेड युवाहरुलाई पनि यो दलतिर आकर्षित गरोस्। यस्मा मेरो सुझावचाहिँ यस दलका सामान्य सदस्यहरुबाट सीधै रास्ट्रिय नेताहरु चुन्ने प्रणालीको सुरुआत गर्नु नै हो ।
यी केही दृष्टान्तहरु मात्र हुन् । यस्ता कुराहरुमा नेपाली कांग्रेसले आगामी दिनहरुमा आफूलाई कति र कसरी परिवर्तन गर्छ, त्यसमा नै मलाई लाग्छ, यो दलको भोलि र सफलता निहीत हुनेछ; नत्र, नेपाली कांग्रेस आगामी पुस्ताहरुको नजरमा नेपाली राजनीतिको एक ऐतिहासिक कथाको रुपमामात्र सीमित नरहला भन्न सकिन्न ।