काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरे । उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गरे ।
महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे ।
सचिव खुलामा रमेश खतिवडाले तीन हजार चार सय मत प्राप्त गरी जित निकाले । सचिव महिलामा सोनी शर्माले चार हजार तीन सय ४७ मत प्राप्त गरी विजयी भए । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार पाँच सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार आठ सय ५८ मत प्राप्त गरी विजयी भए ।
सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार एक सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार छ सय ४५ मत प्राप्त गरी जित हासिल गरे ।
कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार आठ सय ४७ मत प्राप्त गरी विजयी भए । कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले पाँच सय २७ मत र शङ्कर खरेलले चार सय ४२ मत, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा दुई सय ९७ मत र राजेशकुमार कर्णले तीन सय ७६ मत प्राप्त गरी विजयी भए ।
बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिक र नारायणप्रसाद अधिकारी विजयी भए । गण्डकी प्रदेश सदस्यमा कृष्ण केसी, केवी राना, लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेल र विकास बन्जाडे विजयी भए ।
कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायर र सुरेश पन्त, उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्त र सूर्य सुवेदी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओली र सविता शर्मा, संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरी, मनुका कुँवर, खुला सदस्यमा छविलाल तिवारी, भूपेन्द्र आचार्य, मुकुन्दप्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुङ्गाना निर्वाचित भए ।
मधेसी महिलातर्फ रुवीकुमारी रौनियार, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वा, खस आर्य महिलामा लिला शाह योगी निर्वाचित भइन् भने दलित महिलातर्फ रीता बुढाथोकी निर्विरोध निर्वाचित भइन् ।
दलित सदस्यमा सिकेन्द्र पासवान, दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भइन् । आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगर विजयी र आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित भएका थिए ।
मधेसी सदस्यमा राजकरण महतो, मधेसी सदस्य महिलामा ललिताकुमारी साह निर्वाचित भए, अपाङ्गता भएका सदस्यमा भूपराज बस्याल, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामी विजयी भए ।
लेखा समिति संयोजकमा केसी लामिछाने, सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहरा र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले जित निकाले । महासङ्घको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।