लन्डन । तमु प्ये ल्हु संघ युकेले हालै रिडिङमा खरिद गरेको भवनमा परम्परागत रुपमा धार्मिक पूजा गरेर गृह प्रवेश गरिएको छ । सन् २०१५ सालमा चौथो कार्यसमिति यानेकि तत्कालीन अध्यक्ष सोम त्होर्जे तमुको कार्यकालमा सुरु गरेको सामुदायिक भवन तथा क्होँईबो निर्माण परियोजनाअन्तर्गत उक्त भवन खरिद गरिएको हो ।
खरिद प्रक्रियाका सबै खर्चहरु जोडेर करिब नौ लाख पाउन्ड खर्चिएको उक्त भवनको चाबी गत ६ डिसेम्बरमा बुझेका थिए भने ११ डिसेम्बर २०२४, बुधबारको दिनमा गृह प्रवेश गरेको हो । पैंडीगुरुले हेराएको शुभसाइत छोपेर परम्परागत तमु संस्कारअनुसार गाई वर्गबाट गृह प्रवेश गराइएको उक्त शुभदिनमा थप रोकबार, स्वस्ति- शान्ति तथा लाभको लागि प्हच्यु गुरु र क्ल्हेप्रीगुरुहरुद्वारा क्रमशः धिँ छ्योप र थासोँ त्हेँ पूजा सम्पन्न गराइएको थियो ।
पूजा सम्पन्न गराउनको लागि प्हच्यु गुरुहरु जीत क्रोम्छे र बुद्धि ल्होँ तमु तथा क्ल्हेप्री गुरुहरु दान म्होब्छे र हिरा म्होब्छे तमुले धार्मिक अनुष्ठान गराएका थिए भने पूजापछि विधिवत् रुपमा नमुना क्होँईबो स्थापना गराएको छ । प्लानिङ पर्मिसन पाएपछि उचित किसिमको संरचना निर्माण गरिने गरी उक्त नमुना क्होँईबो स्थापना गराइएको अध्यक्ष क्या. (रि) डेम बहादुर योज तमुले बताए ।
गृह प्रवेश र पूजाको लागि संघको संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, आमा, दिदीबहिनीहरु, खेगीगुरुलगायत कार्यसमितिका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमा समूहले संघको अध्यक्ष क्या (रि) डेम बहादुर योज तमुलाई घरमुलीको रुपमा क्रेगी लगाइदिएर सम्मान गरेको थियो भने शुभ मुहूर्त र धार्मिक पूजा सम्पन्न गराएको खेगीगुरुहरुलाई परम्परागत संस्कारअनुसार क्रेगी लगाई दिएर रोटी–रक्सी चखाएर सम्मान गरिएको थियो ।
यसरी भव्य रुपमा आयोजना गरिएको गृह प्रवेश तथा पूजा कार्यक्रममा तमु प्ये ल्हु संघ काठमाडौंका उपाध्यक्ष मानध्वज मैन तमु र उनकी धर्मपत्नी तथा नौथुम तमु समाज काठमाडौंका आमा समूहकी अध्यक्ष टिकमाया ल्होँ तमुको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी कार्यक्रममा आमा समूहकी अध्यक्ष बबिता प्हच्यु तमुले संघलाई एक थान हुबर सौजन्य दिएकी थिइन् भने आमा समूहकी पूर्वअध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार बिष्णु टु क्ल्हेप्री तमुले आमा समूहलाई माङीको प्रतिकको रुपमा सात थान पाला उपहार दिएकी थिइन् ।