लन्डन । गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रमबाट ८ हजार पाउन्ड भन्दा बढी संकलन गरेको छ । अपागंता दिवसका अवसरमा साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा आइतबार आयोजित कार्यक्रमबाट ८ हजार पाउन्डभन्दा बढी रकम संकलन भएको हो । संकलित रकम आशा अपांग केन्द्र तम्घास र गुल्मीकै रुरुस्थित अटिजम विद्यालयलाई सहयोग गरिने समाजका कोषाध्यक्ष मुकुन्द खरालले जानकारी दिए ।
अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न च्यारिटीमा कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले थिए । प्रमुख अतिथि आचार्यले बेलायतवासी गुल्मेलीहरुले गर्दै आएको परोपकारी कार्यको प्रशंसा गर्दै अपांगता भएका व्यक्तिहरुको सहयोग, एम्बुलेन्स वितरणजस्ता कार्य उदाहरणीय भएको बताए ।
एनआरएन युके अध्यक्ष प्रेम गाहामगरले आफू पनि गुल्मेली भएको भन्दै समाजको हरेक कार्यमा साथ, सहयोग रहने आश्वासन दिए । च्यारिटी कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउचाले आशा अपांग केन्द्रले गरिरहेका कार्यहरु पावर पोइन्ट प्रिजेन्टेसनमार्फत जानकारी गराए ।
कार्यक्रममा विशेष अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, सल्लाहकार केशव भण्डारी, पूर्व अध्यक्ष राम गलामी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, काउन्सिलरहरु जीत रानाभाट र नेम थापालगायत अतिथिहरु पनि सहभागी थिए ।
समाजका अध्यक्ष वीर बलालले च्यारिटीबाट उठेको रकम जिल्लाका अपागंता भएकाहरुका क्षेत्रमा खर्च गरिने जानकारी गराए । कार्यक्रममा उपस्थित हुने र सहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरे । कार्यक्रम संयोजक एवम् समाजकी उपाध्यक्ष तारा भट्टराईले कार्यक्रम सम्पन्न गर्न विभिन्न माध्यमबाट सहयोग गर्ने सहयोगदातालाई धन्यवाद दिइन् ।
कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेले विभिन्न सफलता प्राप्त गर्ने सल्लाहकारहरु र कलाकारहरुलाई सम्मान गरेको थियो । त्यस्तै, अपांगता भएका अभियन्ताहरु शान्ति कुँवर, हरि बुढा र विनोद बुढाथोकीलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका सल्लाहकार एवम् पत्रकार फडिन्द्र भट्टराईले सुन्दर कविता वाचन गरेका थिए । गुल्मेली नौमती बाजाका साथै लोकदोहोरी गायिका रुपा घर्ती मगर, जसु गुरुङ, क्याप्टेन वीरबहादुर थापालगायतले सांगीतिक प्रस्तुति गरेका थिए ।
दीपक थापा मैथानेसहितका स्थानीय कलाकारहरुले आकर्षक नृत्य एवं सांस्कृतिक प्रस्तुति देखाएका थिए भने डिजे हेम विष्टले नचाएका थिए । कार्यक्रम सञ्चालन महासचिव रुद्र थापाले गरेका थिए भने सहसंयोजन सचिव महलाल घिमिरे र सांस्कृतिक कार्यक्रम संयोजन माया केसीले गरेका थिए ।