लन्डन । गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम सम्पन्न भएको छ ।
विश्व अपांगता दिवसको अवसरमा आइतबार १ डिसेम्बरका दिन मिडल्यान्डको मार्केट हारबरोस्थित हारबरो टाउन कम्युनिटी फुटबल ग्राउन्डको हलमा उक्त च्यारिटी कार्यक्रम सम्पन्न भएको हो । च्यारिटी कार्यक्रममा करिब १५ लाख रुपैयाँ संकलन भएको समाजका अध्यक्ष रुद्र थापाले जानकारी दिएका छन् । उनले संकलित रकम विगतजस्तै नेपालमा अपांगताकै क्षेत्रमा सहयोग गरिने बताए ।
समाजले अब अपांगता भएका व्यक्तिहरुको सीप तथा क्षमता विकासका लागि तालिमजस्ता उत्पादनमूलक कार्यमा लगानी गर्ने र त्यसबाट तत्काललाई मात्रै नभइ दीर्घकालीन रुपमै सहयोग उपलब्ध हुने विश्वास उनले व्यक्त गरे । यसअघि अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा प्रमुख अतिथि लन्डन दूतावासका प्रथम सचिव उद्धव न्यौपानेले शुभकामना मन्तव्य राख्दै नेपालमा अपांगता भएकाहरुको लागि गुल्मी जिल्ला समाजले पुर्याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताए ।
सो अवसरमा विशेष अतिथिहरु एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके महासचिव गोविन्द खरेल, समाजका पूर्वअध्यक्ष अर्जुन गौतम, ट्रस्टी रणबहादुर खाती क्षेत्री, सल्लाहकार कमल भण्डारी, साझा नेपाली समाज यूके अध्यक्ष दीपक सापकोटा, सिर्जनशील लेष्टर नेपाल अध्यक्ष पुण्डरी अर्याल, स्थानीय समाजसेवी जुडिथ स्मिथ, चन्द्र सहानी, विष्णु चालिसे, नारायण फुयाल, शसांक शर्मा, महेश अधिकारीलगायतले मन्तव्य राख्दै समाजका परोपकारी कार्यहरुको प्रशंसा गर्दै निरन्तरताका लागि शुभकामना दिए ।
कार्यक्रममा नेपालबाट आएकी चर्चित मोडल रुबिना अधिकारीले आकर्षक नृत्य तथा दीपक घर्ती र रेजिना परियारले गायन प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए । सल्लाहकार क्याप्टेन रिटायर्ड वीरबहादुर थापाले गीत प्रस्तुत गरेका थिए । त्यस्तै, प्रथम नौमती बाजा गुल्मी यूकेले पनि विशेष प्रस्तुति गरेको थियो ।
समाजका पूर्व अध्यक्ष राम गलामीले अपांगता दिवससम्बन्धि एक प्रिजेन्टेसन गरे । महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् उपाध्यक्ष मुकुन्द खरालले स्वागत तथा सहसंयोजक सुरेश केसीले धन्यवाद मन्तव्य दिएका थिए । अध्यक्ष थापाले कार्यक्रम सफल पार्न जुट्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।