लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरूसँग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धी नयाँ नियमबारे अन्तर्क्रिया सम्पन्न भएको छ ।
लन्डनस्थित ‘एभरेस्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बर आइतबार भर्चुअल अन्तर्क्रिया भएको हो । अन्तर्क्रियामा लन्डनस्थित ल फर्म वान पम्प कोर्टसँग आबद्ध ब्यारिस्टरहरू जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयाँ परिवर्तित नियम सम्बन्धमा स्पष्ट पारेका थिए ।
अन्तर्क्रियामा एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले स्वागत गर्दै ब्यारिस्टरहरूको परिचय दिएका थिए । १३ वर्षदेखि सञ्चालनमा रहेको उक्त फर्ममार्फत अहिलेसम्म गोर्खा सन्तानका मुद्दाहरू झन्डै ९० प्रतिशत सफल गरी करिब ७ हजार गोर्खालीका सन्तान यूके आइसकेको उनले जनाए ।
ब्यारिस्टर किलिन म्याककार्थीले भूतपूर्व गोर्खाहरूले कसरी बेलायतमा आवासीय अधिकार प्राप्त गरे र अभियान कसरी सफल भयो भन्ने चर्चा गर्दै वर्तमान परिवर्तित नीतिबारे अवगत गराएकी थिइन् ।
सन् २०२३ अक्टोबर ५ मा होम अफिसले गोर्खा र हङकङ सैनिकका लागि नयाँ नियम परिवर्तन गरे पनि पछि उक्त नियमविरुद्ध मुद्दा परेपछि अदालतले गोर्खाहरुकै पक्षमा फैसला गरेको उनले जनाइन्।
फर्स्ट टिएर ट्राइबुनलले नेसनालिटी, इमिग्रेसन एन्ड असाइलम एक्ट र युरोपियन महासन्धिको धारा ८ बमोजिम आवेदकलाई पारिवारिक जीवनबाट विमुख गर्न नमिल्ने भन्दै अपिल राइट्स दिन आदेश गरेको उनको भनाइ थियो ।
‘अति विपन्न’ अवस्थाका भूतपूर्व गोर्खाका विधवा र तिनका सन्तान सबैलाई बेलायतले भिसा शुल्क नलिने भए पनि त्यसका लागि यथेष्ट प्रमाण जुटाउनु पर्ने, समय धेरै लाग्ने र यसमा धेरै कानुनी झन्झट हुने उनले बताइन् ।
अर्की ब्यारिस्टर जस्टिन फिसरले आवेदन गर्ने तरिका र दस्तुरबारे स्पष्ट पारिन् । ब्यारिस्टर डेबोराले नेपालबाट आवेदन हाल्ने तरिका, आवेदनमा साक्षी बयान लेख्दा ध्यान दिनुपर्ने सन्दर्भ आदिबारे प्रस्ट्याएकी थिइन् । कभरिङ लेटरमा गल्ती हुन नहुने र आफ्नो बयान झुटो हुन नहुनेमा उनको जोड थियो ।
ठेगाना पनि सही आफू बसिरहेकै ठाउँको हुनुपर्ने, स्पोन्सर गर्नेले आफ्ना सन्तानलाई पैसा नियमित पठाइरहेको अर्थात् आर्थिक निर्भरताबारे बुझाउन जरुरी हुने उनको धारणा छ । बैंक स्टेटमेन्ट वा अन्य कागजात नक्कली नबनाउन पनि उनले सुझाइन् । उनले लामो समय अगाडि बाबु आमा बितिसकेको भए उनीहरूको हकमा भिसा हुने सम्भावना निकै कम रहेको पनि प्रस्ट्याइन् ।
कार्यक्रममा एभरेस्ट ल सोलिसिटर्ससँग आबद्ध सोलिसिटर सैयद इमरान अलीले पनि विभिन्न जिज्ञासा मेटाएका थिए ।