लन्डन । तमुधिं यूके लन्डन इकाईको १५औं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ ।
सडवरी हिल खेलकुद क्लबको सभाहल (प्रेक्षालय)मा यही ४ डिसेम्बर २०२२ को दिन तमुधिं यूके लन्डन इकाईका अध्यक्ष विष्णु गुरुङको सभापतित्व र तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङको प्रमुख आथित्यमा उक्त साधारणसभा भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, इकाई अध्यक्ष विष्णु गुरुङ, प्रमुख सल्लाहकार काउन्सिलर लक्ष्यबहादुर गुरुङ, आमा समूह अध्यक्ष कमला गुरुङ र पूर्वअध्यक्ष एवं ट्रष्टिज डेबिड गुरुङले सामूहिकरुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।
प्रमुख अथिति तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, विशिष्ट अथितिहरु, वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, काउन्सिलर लक्ष्यबहादुर गुरुङ, ट्रष्टिज क्या. प्रेम गुरुङ, ले. नारायणप्रसाद गुरुङ BEM, साथै निवर्तमान अध्यक्ष चन्द्रबहादुर गुरुङले साधारणसभा सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
पहिलो चरणको कार्यक्रममा तमुधिं यूके लन्डन इकाईको तर्फबाट सचिव विशाल गुरुङको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नन्द गुरुङको आर्थिक प्रतिवेदन, आमा समूह सचिव गुना गुरुङको वार्षिक प्रतिवेदन, आमा समूह कोषाध्यक्ष गुड्डु गुरुङको आर्थिक प्रतिवेदन छलफलपछि सभाहलले सर्वसम्मत पारित गरेको थियो ।
दोस्रो चरणको कार्यक्रममा तमुधिं लन्डन इकाईलाई बेलायतको कानुनत: च्यारिटीमा संस्था दर्ता गरिने निर्णय गर्दै दर्ता प्रक्रियाको सम्पूर्ण जिम्मा कार्यसमितिलाई दिने निर्णय गरिएको छ । यस्तै लन्डन उत्तर पश्चिम क्षेत्रमा तमु भवन खरिद गर्ने परियोजनालाई पूर्णता दिँदै हाउजिङ कार्यदल गठन गरी सबै प्रक्रियाअनुसार हाउजिङ प्रोजेक्टका लागि च्यारिटी कार्यक्रमहरु गरिने, तमुधीं लन्डन इकाईले आउँदो २०२३ का लागि वार्षिक कार्यक्रमहरुको मिति तमुधिं यूके (केन्द्र) को कुनै पनि कार्यक्रमहरुसॅंग नजुधिने गरी तय गरेको छ ।
वि.सं. २०८० सालको नेपाली महिलाहरुको हरितालिका तीज कार्यक्रम १६ सेप्टेम्बर शनिबार, लन्डन इकाईले देउसी भैलो कार्यक्रम नोभेम्बर ११ शनिबार, लन्डन इकाईको आउँदो माहधिवेशन २५ नोभेम्बर शनिबारको दिन गर्ने निर्णय गरिएको छ ।
मुप्री ल्हो अर्थात् (गिद्ब वर्ग) ल्होसार/ ल्होछार कार्यक्रम तथा १६औं वार्षिकोत्सव कार्यक्रमका लागि २९ डिसेम्बर, शुक्रबार ६ र ७ जनवरी २०२४ यी मितिहरुमध्ये कार्यसमितिको आउँदो बैठकले सबैलाई अनुकूल हुने गरी निर्णय गरिने सहमति भएको सचिव विशाल गुरुङले जानकारी दिए ।
त्यस्तै तमुधिं लन्डन इकाईको यस वर्षको ल्होसार कार्यक्रम र १५ औं वार्षिकोत्सव कार्यक्रम ८ जनवरी २०२३ ग्रिनफोर्ड हलमा भव्यताको साथ मनाउनका लागि पूर्व तयारीमा जुट्दै ल्होसार संयोजक तथा इकाईका उपाध्यक्ष भरत गुरुङले पछिल्लो अपडेट गर्दै टिकेट बिक्री वितरण, अथितिहरुलाई आमन्त्रण, संघ संस्थाहरुलाई निमन्त्रणका लागि पत्राचारमा खटिरहेको जानकारी गराउँदै यही २६ डिसेम्बर केन्द्रको महाधिवेशनमा तमु भवन मिचेटमा साथै ३१ डिसेम्बरमा केन्द्र तमुधिं यूकेको ल्होसारलाई सफल पार्न इकाईको तर्फबाट सक्दो उपस्थिति हुने, त्यसैगरी ८ जनवरीमा इकाईको ल्होसार सफल पार्न सबैलाई साथ समर्थन र सहयोगको आग्रह गरे ।
आउँदो ८ (आठ) जनवरीमा मनाइने ल्होसार/ ल्होछार तथा १५औं वार्षिक ऊत्सव कार्यक्रममा गुरुङको पुरोहित, लामा धर्मगुरु, पच्य्हु चिबा र क्याप्री चिबा पनि आमन्त्रण गरिने भएको छ ।
साधारणसभाको दिनमा पहिलो तमु चलचित्र 'पातें'का लेखन, निर्देशक तथा नायक प्रितम गुरुङले सिंगो गुरुङ समुदयको कलाकारिता क्षेत्रमा दिएको योगदानको कदर गर्दै गुरुङ परम्परा संस्कार रीतिवाजनुसार क्रेगी र खादाले आभिनन्दन गर्दै सम्मान समेत गरिएको थियो । त्यसैगरी तमुधिं यूके ११औं कार्यसमिति सदस्य इकाईका सल्लाहकार श्रीप्रसाद गुरुङ, कोषाध्यक्ष नन्द गुरुङ र आमा समूह कोषाध्यक्ष गुड्डु गुरुङलाई क्रमशः 'नुमा' चलचित्र निर्माता, गिलुङ गाउँको चिनारी' म्यूजिक भिडियो निर्माता र आफ्नै शब्द र लयमा फूर्केटी चेली कौडा गीतको म्यूजिक भिडियो बनाउन सफल भएको खुशीयालीमा बधाई तथा सम्मान गरिएको थियो ।
साधरणसभामा प्रमुख अथिति तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ र विशिष्ट अथिति वरिष्ठ उपाध्यक्ष हरि गुरुङले मन्तव्यको क्रममा लन्डन इकाई तमुधिंको अभिन्न अंग रहँदै आएको भन्दै प्रशंसा गरे । उनीहरुले जति पनि केन्द्रको कार्यक्रम सफल हुनुमा लन्डन इकाई सॅंधैं सक्रिय रहॅंदै सहयोग गरिरहनु पनि कारण रहेको उल्लेख गरे ।
'तपाईंहरु नै केन्द्र हो । तमुधिं यूके सफल हुनु नै इकाई सफल हुनु हो । हामीले मनन गरेका छौं । भावी दिनहरुमा पनि यही एउटा हातको पाँच औंला जस्तो संगठित रहन सक्यौं भने हामीले जुनसुकै आँटेका कामहरु पूरा गर्न सक्ने छौं,' अध्यक्ष गुरुङले भने, 'यही कामना पनि गर्दछु । लन्डन इकाईलाई हाम्रो सॅंधै साथ छ ।'
विशिष्ट अथिति काउन्सिलर लक्ष्य गुरुङ, ट्र्ष्टिजहरु क्या. प्रेम गुरुङ, ले. नारायणप्रसाद गुरुङ, डेबिड गुरुङ, चन्द्रबहादुर गुरुङ र निवर्तमान आमा समूह अध्यक्ष डिलमाया गुरुङले संस्थाको हितका लागि महत्वपूर्ण सुझाव साथै कार्यसमितिको लगाब, मिहिनेतको तारिफ गर्दै धन्यवाद दिएका थिए ।
कार्यक्रमको अन्तमा नायक तथा चलचित्र निर्देशक प्रितम गुरुङले तमुधिं यूके र लन्डन इकाईले आफूलाई दिएको सम्मान र स्वागत तथा मायाले अझै केही गर्नु पर्दछ भन्ने उर्जा मिलेको महसुस भएको भन्दै आभार प्रकट गर्दै धन्यवाद दिए ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भरत गुरुङले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव विशाल गुरुङ (रक) गरेका थिए । कार्यक्रममा उपस्थित भई साधारणसभा सफल बनाइदिएको भन्दै सबैलाई धन्यवाद आमा समूह अध्यक्ष कमला गुरुङले दिइन् ।
लन्डन इकाईका अध्यक्ष विष्णु गुरुङबाट उपस्थित सम्पूर्ण महानुभावहरुप्रति वार्षिक साधरणसभा सफल पारिदिएको इकाईको तर्फबाट आभार प्रकट गर्दै धन्यवादसहित सभा समापन गरिएको थियो ।