आफ्नै गाउँ घरकै झ्याउरे गीतहरुमा,
मादलुको तालमा भीर पखेरुहरुमा
नाचीरहने मेरा रहरहरु, मेरा सुन्दर सपनाहरु
सिमालको भुवाजस्तै उडी हिँड्ने मेरा रहरहरु,
आकाशको माथि-माथि बादल बनी उडी हिँड्ने मेरा रहरहरु,
डाक्टर, नर्स बनी सेवा गर्ने मेरा रहरहरु,
सुन्दर पंछी बनी आकाशको माथि-माथि उडी हिँड्ने मेरारहरहरु,
सधैंभरी चोखो माया बाँडी हिँड्ने मेरा रहरहरु,
आफ्नै गाउँ घरकै झ्याउरे गीतहरुमा, मादलुको तालमा भीर पखेरुहरुमा, नाचीरहने मेरा रहरहरु, मेरा सुन्दर सपनाहरु
जूनकीरीझैं ज्योति बाली उडी हिँड्ने मेरा रहरहरु,
ज्ञानको ज्योति विश्वभरी फैलाउँदै हिँड्ने मेरा रहरहरु,
श्री बुद्ध भगवानजी जस्तै ज्ञानी बनी ज्ञान बाँड्ने मेरा रहरहरु,
सुन्दर कोमल फूलहरु जस्तै फुलिरहने मेरा रहरहरु,
मैच्याङ बनी डम्फुको तालमा तामाङ सेलोमा नाची रहने मेरा रहरहरु
आफ्नै गाउँ घरकै झ्याउरे गीतहरुमा, मादलुको तालमा भीर पखेरुहरुमा, नाचीरहने मेरा रहरहरु, मेरा सुन्दर सपनाहरु
रंगी बिरंगी सुन्दर पुतली बनी फूलबारीहरुमा उडी हिँड्ने मेरा रहरहरु,
सुन्दर बेली, चम्पा चमेलीजस्तै फूल बनी फुलिरहने मेरा रहरहरु,
सुन्दर मयूर र डाँफे चरी बनी नाचीरहने मेरा रहरहरु,
विश्वकै सबैभन्दा उच्च सगरमाथा बनी टलटल टल्किरहने मेरा रहरहरु,
सुन्दर विशाल पबित्र गंगा नदीझैं कलकलाउँदै बगी हिँड्ने मेरा रहरहरु,
आफ्नै गाउँ घरकै झ्याउरे गीतहरुमा, मादलुको तालमा भीर पखेरुहरुमा, नाचीरहने मेरा रहरहरु, मेरा सुन्दर सपनाहरु
कोइली चरीझैं सुन्दर गीतहरु गाइरहने मेरा रहरहरु,
सुन्दर मनमोहक बाँसुरी, सारंगीको धुनहरु सुनीरहने मेरा रहरहरु,
छमछम पाउजु बजाउँदै नाचीरहने मेरा रहरहरु,
झाँसी कि रानीजस्तै वीर योद्धा बन्ने मेरा रहरहरु,
मासुम बच्चाजस्तै तोते बोली बोलीरहने मेरा रहरहरु
आफ्नै गाउँ घरकै झ्याउरे गीतहरुमा, मादलुको तालमा भीर पखेरुहरुमा, नाचीरहने मेरा रहरहरु, मेरा सुन्दर सपनाहरु
दूबोजस्तै फैलिने पातीझैं मौलिने मेरा रहरहरु,
हरेक कार्यक्रमको प्रतियोगिताहरुमा सहभागी भई जित्ने मेरा रहरहरु,
बिहानीको पहिलो किरण बनी संसारभरि सबैको घर आँगनमा झुल्किने मेरा रहरहरु,
संसारमा सबैको आँखाको तारा र मुटुको ढुकढुकी बनिरहने मेरा रहरहरु,
संसारभरि नै चोखो माया र शान्तिको सन्देश फैलाउने मेरा रहरहरु
आफ्नै गाउँ घरकै झ्याउरे गीतहरुमा, मादलुको तालमा भीर पखेरुहरुमा, नाचीरहने मेरा रहरहरु, मेरा सुन्दर सपनाहरु
यो धरती पृथ्वी आकाशमा सूर्य चन्द्रमा तारा रहेसम्म ध्रुवा-ताराजस्तै आस्मानमा चहकिलो तारा बनी चम्कीरहने मेरा रहरहरु,
सबै जनालाई माया ममता र सेवा पुर्याइरहने मेरा रहरहरु,
सबैको आँखाको आँसु पुछ्न सकुँ र ओठमा मीठो मुस्कान दिन सकुँ मेरा रहरहरु,
बसन्त ऋतुमाझैं सुन्दर रंगीबिरंगी फूलहरु बनि फुलिरहने र हरियाली छाइरहने मेरा रहरहरु,
सबै रङ मिलीजुली हातेमालो गर्दै सुख दुःख बाँड्दै हमेशा मुस्कुराइरहने मेरा रहरहरु,
आफ्नै गाउँ घरकै झ्याउरे गीतहरुमा, मादलुको तालमा भीर पखेरुहरुमा, नाचीरहने मेरा रहरहरु, मेरा सुन्दर सपनाहरु