लन्डन । बेलायतमा गोर्खा इन्टेक १९७४ ले आफ्नो ५०औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाएको छ । अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा २३ नोभेम्बर २०२४ का दिन धूमधामका साथ स्वर्ण जयन्ती मनाएको हो।
सुरुआतमा चेयरमेन तथा इभेन्ट कोअर्डिनेटर क्याप्टेन तीर्थमान गुरुङले सबैलाई स्वागत गरेका थिए । स्वास्थ्य र सुरक्षाबारे पनि उनले नै जानकारी गराएका थिए । नेपाली र बेलायतको राष्ट्रिय गानमा सबै जना सहभागी भएका थिए ।
अहिलेसम्म दिवंगत भएकाहरूको नाममा दुई मिनेट मौन धारण गरिएको थियो । त्यसपछि नम्बरी र उनीहरूको परिवारलाई मायाको चिनो र खादाले स्वागत गरिएको थियो ।
नेपालबाट आएका गल्ला गुरुजी ८६ वर्षीय सार्जन्ट पदमबहादुर थापाले मायाको चिनो र कप्रोल तेजबहादुर थकालीले खादा लगाइदिएका थिए । उनीहरूलाई गोर्खा मेजर नरकाजी गुरुङ, गोर्खा मेजर चितराज लिम्बू एमभीओ एमबीईले सहयोग गरेका थिए ।
एनिभर्सरी केक काटेर भव्य रूपमा सेलिब्रेसन गरिएको थियो । ग्रुप फोटो पनि खिचिएको थियो । मेजर नरकाजीले नम्बरीहरूलाई विगतका कुराबारे जानकारी दिएका थिए । उनले चेयरमेन कोअर्डिनेटर क्याप्टेन तीर्थमान दम्पतीलाई पनि सम्मान गरेका थिए। स्वादिष्ट खानाका साथमा रमाएका थिए । लामो समयपछि भेटेका साथीहरू एकापसमा खुसी साटासाट गर्दै रमाएका थिए ।
कलाकारहरू रोविना अधिकारी, आयुस्मा गुरुङ र नुमासा इनामले नृत्य तथा रेजिना परियारले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे । इन्टेकका विभिन्न पल्टनमा गएका आ-आफ्ना दाजुभाइले पनि गीत र कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रम एउटा रमाइलो उत्सव जस्तो बनेको थियो। अन्त्यमा हरेक पल्टनका एक-एक जनाले स्याम्पेन फोरेर सबै जनाले सेलिब्रेसन गरे । कोअर्डिनेटर क्याप्टेन तीर्थमान गुरुङले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।