लन्डन । लमजुङ समाज यूकेको हिउँदे भेटघाट तथा कल्याणकारी रात्रिभोज २०२४ भव्य रूपमा सम्पन्न भएको छ । २३ नोभेम्बर २०२४ मा सामुयल कोडी स्पोर्ट्स कलेज फार्नबरोमा कार्यक्रम भएको हो ।
समाजका अध्यक्ष दलबहादुर गुरुङको निर्देशनमा उपाध्यक्ष पूर्णराज गुरुङले कार्यक्रम संयोजन गरेका थिए । प्रतिकुल मौसम र विवाहको लगनले गर्दा उपस्थिति कम हुने चिन्ता लिएर कार्यक्रम आयोजना गरिएको थियो । तर आमन्त्रित पाहुना र लमजुङेको उपस्थितिले हल खचाखच भरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास लन्डनका नियोग प्रमुख विपिन दुवाडी रहेका थिए । तमु धीं यूकेका अध्यक्ष हरि गुरुङलगायत विभिन्न संघसंस्थाका अध्यक्ष र प्रतिनिधि अतिथिका रूपमा उपस्थित भएर लमजुङ समाजको भवन खरिद गर्ने योजनामा एउटा इँटा थप्न सहयोग गरेका थिए ।
कार्यक्रममा समाजका विभिन्न व्यक्तित्वलाई बधाई तथा सम्मान दिइएको थियो । त्यसरी नै ग्र्याजुएट्सहरूलाई बधाई र नेपालबाट आएका कलाकार बिमाकुमारी दूरा, रेजिना परियार र रुबिना अधिकारीलाई समाजका तर्फबाट मायाको चिनो र आमा समूहबाट पछ्यौरा ओढाएर सम्मान गरिएको थियो।
लमजुङ भवन खरिद गर्न संयोजकको भूमिका निभाउने संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले भवन खरिद गर्ने अभियानको बारेमा विस्तृत जानकारी दिएका थिए । लमजुङ भवन खरिद अभियानका लागी चन्दा स्वरूप रकम बाचा गर्ने सबैलाई धन्यवादसहित अध्यक्षले खादा लगाएर सम्मान गरेका थिए ।
अन्त्यमा नेपालका ख्यातिप्राप्त कलाकार बिमाकुमारी दूरा, रेजिना परियार, तिलक गुरुङ र रुबिना अधिकारीलगायत स्थानीय कलाकारको बेजोड प्रस्तुतिले कार्यक्रम भरपुर मनोरञ्जनात्मक भएको थियो । त्यसरी नै दि लन्ज रेस्टुरेन्टको स्वादिष्ट खाना र आमा समूहबाट सुलभ मूल्यमा तातो चिसो पेय पदार्थले सुनमा सुगन्ध छाएको थियो ।
प्रतिकुल मौसमलाई बेवास्ता गर्दै कार्य व्यस्ततालाई थाती राखेर उपस्थित भएका प्रमुख अतिथि, अतिथि, लमजुङ समाज यूकेका पदाधिकारी सल्लाहकार आजीवन सदस्य र इष्टमित्र सबैलाई धन्यवाद दिइएको थियो ।