काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपालीलाई लक्षित गर्दै धितोपत्र निष्काशन गर्न आवश्यक व्यवस्था गरिएको कदमलाई गैरआवासीय नेपालीहरुले स्वागत उल्लेख गरेका छन् ।
शुक्रबर विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले नेपालको इतिहासमा पहिलो पटक आईपीओ निष्कासनसम्बन्धी निर्णय भएकोमा खुसी व्यक्त गर्दै नेपालको विकासमा सहभागी हुने थप प्रतिबद्धता व्यक्तसमेत गरेक छन् ।
'धितोपत्र निष्काशन तथा बाँडफाँड (आठौं संशोधन) निर्देशिका, २०८१ लाई नेपाल धितोपत्र बोर्डले मिति २०८१ मंसिर ६ तद अनुसार सन् २०२४ नोभेम्बर २१ तारिखको दिन स्वीकृती प्रदान गरी गैरआवासीय नेपालीको लगानी भित्र्याउने अभियानलाई थप उर्जा प्रदान गरेको छ,' अध्यक्ष केसीले निकालेको विज्ञप्तिमा लेखिएको छ,'उक्त संशोधित निर्देशिकाले गैरआवासीय नेपालीको लगानी भित्र्याउन तथा लगानी फिर्ता सम्बन्धि विशेष व्यवस्था गरिएकोले गैरआवासीय नेपालीहरु अत्यन्त उत्साहित भएको व्यहोरा अवगत गराउँदछौं ।'
उक्त व्यवस्थाबाट विश्वभरिका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी हुन तथा आफ्नो ज्ञान, सीप र पुजी नेपालमा भित्र्याउन सहज वातावरण निर्माण भएको संघले ठहर गरेको छ ।
अध्यक्ष केसीले गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन आवश्यक वातावरण निर्माणमा सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकाय र सम्पूर्ण साझेदारहरुप्रति गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा विश्वभरि ८७ देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।