प्रिय
हिमाल मलाई माफ गरी देऊ
म तिम्रो मायामा बाँधिन छोडेर
म तिम्रो घुम्टोमा सजिन छोडेर
फेरि तिमीबाट टाढा जाँदैछु
प्रिय
पहाड मलाई माफ गरीदेऊ
म तिम्रो स्पर्श भुल्न छोडेर
म तिम्रो माटोमा फूल्न छोडेर
फेरि तिमीबाट टाढा हुँदैछु
प्रिय नदी मलाई माफ गरी देऊ
म तिम्रो वेग सँगै बहन छोडेर
म तिमीभित्रै रहन छोडेर
फेरि तिमीबाट टाढा हुँदै छु
प्रिय
सयपत्री मलाई माफ गरीदेऊ
म तिमीलाई नै गाँस्न छोडेर
तिमीसँगै हाँस्न छोडेर
फेरि तिमीबाट टाढा हुँदैछु
प्रिय
लिंगेपिंग मलाई माफ गरीदेऊ
म तिमीलाई मच्चाऊन छोडेर
तिम्रो अस्तित्व बचाऊन छोडेर
फेरि तिमीबाट टाढा जाँदै छु
डाफे र मुनाल मलाई माफ गरीदेऊ
म तिमीसँगै गाऊन छोडेर,
हिमाल, पहाडमा रमाऊन छोडेर
फेरि तिमीबाट टाढा हुँदैछु !
मौरी र भमराहरु मलाई माफ गरीदेऊ
म तिमीसँगै भुनभुनाऊन छोडेर
प्रेमको गीत गुनगुनाऊन छोडेर
फेरि तिमीबाट टाढा जाँदैछु
तर
मैले
मेरो हिमाललाई भनेकी छु
मेरी आमालाई तिमीले पहरा दिइरहनु
पहाडलाई भनेकी छु मेरी आमालाई तिमीले सहारा दिइरहनु
नदी नालालाई भनेकी छु मेरी आमालाई
कतै चर्को घामले नपोलोस् तिम्रो पवित्र जलले सिँची राख्नु
सयपत्रीहरु सधैँ आमाको काखमा फूलिरहनु
लिंगे पिङहरु आमासँगै झुलिरहनु
डाँफे र मुनालहरु आमासँगै गुनगुनाइरहनु
मौरी र भमराहरु आमाको छेऊमा भुनभुनाइरहनु
म छिट्टै तिम्रो अंगालोमा बाँधिन फेरि आऊनेछु
अनि म तिमीसँगै बसेर रमाऊने छु
तबसम्म तिमीले मेरी आमालाई जोगाई देऊ
आमाका दु:खकष्ट पीडा सबै हटाईदेऊ
पापीहरुले चिथोरी रहलान मलम पट्टी लगाइदेऊ
दुष्टहरुको दृष्टीबाट आमालाई जोगाइदेऊ
सधैं न्यानो कपडाले बेरेर कठाग्रिन नदेऊ
म फेरि छिट्टै आउनेछु
र तिमीसँगै रमाऊने छु
तिमीसँगै रमाऊनेछु ।