लन्डन । रिडिङ तमु समाज यूकेको अध्यक्षमा देव बहादुर गुरुङ निर्वाचित भएको छन् । समाजको शनिबार १६ नोभेम्बर २०२४ मा सम्पन्न वार्षिक साधारण सभा तथा महाधिवेशनले देव बहादुरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा हिरा गुरुङ र विमला गुरुङ तथा महासचिव याम गुरुङ, सचिवमा राजकुमार गुरुङ, कोषाध्यक्षमा हस्त गुरुङ, सह कोषाध्यक्षमा राम गुरुङ र कल्चरल आईसीमा जुम प्रसाद गुरुङ निर्वाचित भएका छन् । अन्य पदाधिकारी तथा सदस्य गरी ३० जनाको कार्य समिति बनेको हो ।
त्यस्तैगरी, रिडिङ तमु आमा समूहको अध्यक्षमा आशा गुरुङ चयन भइन् । आमा समूहको उपाध्यक्षमा हरिमाया गुरुङ, उसा गुरुङ र मिना गुरुङ तथा महासचिव आशा गुरुङ २, सचिवमा शान्तु गुरुङ, कोषाध्यक्षमा साम्तेन गुरुङ र सह कोषाध्यक्षमा शान्ति गुरुङ रहेका छन् ।
रिडिङको पाकिस्तान कम्युनिटी सेन्टरमा भएको कार्यक्रमको अध्यक्षता सातौँ कार्यसमितिका अध्यक्ष रुद्र राज गुरुङले गरेका थिए । अध्यक्ष गुरुङ, रिडिङ तमु समाजका ज्येष्ठ सदस्य गोपाल गुरुङ र आमा समूहका अध्यक्ष विमला गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।
पहिलो चरणमा वार्षिक साधारण सभा भएको थियो । महासचिव याम गुरुङले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण, कोषाध्यक्ष हस्त गुरुङले आयव्यय विवरण र समाजको आर्थिक प्रतिवेदन प्रस्तुत साथै नयाँ आजीवन सदस्यलाई अध्यक्षले आजीवन सदस्य ब्याज प्रदान गरे ।
यसैगरी, साधारणसभामा संस्थाको आर्थिक गतिविधि र आगामी २१ डिसेम्बरमा हुने रिडिङ तमु समाजको ल्होछारको विषयमा बृहत् छलफल गरिएको थियो । उपाध्यक्ष देव बहादुर गुरुङले स्वागत मन्तव्य राखेको सभामा पूर्वअध्यक्षको तर्फबाट ओमेन्द्र गुरुङ, सल्लाहकारका तर्फबाट तमु पे ल्हु संघ यूकेका अध्यक्ष तथा रिडिङ तमु समाज यूकेका सल्लाहकार क्याप्टेन डेम बहादुर गुरुङ , साधारण सदस्यका तर्फबाट लमजुङ समाज यूकेका पूर्वअध्यक्ष बोहत गुरुङ र सभामा उपस्थिति जनाएका सबैको तर्फबाट सल्लाहकार रुद्र जङ गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
महासचिव याम गुरुङले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रम सौहार्दपूर्ण वातावरणमा भएको थियो । वक्ताहरूले समाजको हित र भावी कार्यक्रमका लागि सकारात्मक सुझाव दिएका थिए । उनीहरूले हालसम्म भइरहेका काममा खुसी प्रकट गर्दै सातौँ कार्य समितिका पदाधिकारी तथा सदस्यलाई धन्यवाद व्यक्त गरेका थिए ।
पहिलो चरण कार्यक्रमको अन्त्यमा अध्यक्ष रुद्र राज गुरुङ र आमा समूहका अध्यक्ष विमला गुरुङले कार्य समितिको पदाधिकारी, आमा समूह र उपस्थित आजीवन सदस्यलाई धन्यवादका साथमा नयाँ कार्य समितिलाई पनि सहयोग गर्न अपिल गर्दै सातौँ कार्य समिति विघटन भएको घोषण गरे ।
त्यसपछि नयाँ कार्यसमिति चयन प्रक्रिया सुरु भएको थियो । निर्वाचन समितिका अध्यक्ष सल्लाहकार लेफ्टेनेन्ट ढक बहादुर गुरुङको अध्यक्षतामा निर्वाचन समितिका सदस्य पूर्वअध्यक्ष ओमेन्द्र गुरुङ र पूर्वअध्यक्ष डम्बर गुरुङले सञ्चालन गरेको दोस्रो चरणको कार्यक्रममा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।
निर्वाचन समितिका अध्यक्ष लेफ्टेनेन्ट ढक बहादुर गुरुङले नवनिर्वाचित पदाधिकारीलाई शपथ गराएका थिए । उनले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
निर्वाचन समितिका सदस्य पूर्वअध्यक्ष ओमेन्द्र गुरुङ र डम्बर गुरुङले सातौँ कार्य समितिको अध्यक्ष रुद्र राज गुरुङ, उनकी धर्मपत्नी अमृता गुरुङ र नवनिर्वाचित अध्यक्ष देव बहादुर गुरुङ तथा उनकी धर्मपत्नी अरुणा गुरुङलाई खादा, क्रेगी, पछ्यौरी र फूल दिएर सम्मान गरेका थिए ।
रिडिङ आमा समूहका अध्यक्ष विमला गुरुङ र नव निर्वाचित आमा समूहका अध्यक्ष आशा गुरुङलाई आमा समूहका संस्थापक अध्यक्ष राजकुमारी गुरुङले खादा, पछ्यौरी र फूलले सम्मान गरेका थिए । सबै पदाधिकारीलाई खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए ।
सातौँ कार्य समितिका अध्यक्ष रुद्र राज गुरुङले संस्थाको गतिविधि सम्बन्धी रजिस्टरी बुक र विधान नवनिर्वाचित अध्यक्ष देव बहादुर गुरुङलाई प्रदान गरी पदभार हस्तान्तरण गरेका थिए । त्यसपछि नवनिर्वाचित अध्यक्ष गुरुङले समाजको सर्वोपरि हितमा आफू लाग्ने र समाजको नाम उच्च राखिरहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा फोटोग्राफर नवनिर्वाचित सदस्य प्रेम गुरुङ, पेय पदार्थ कबिन गुरुङ र खानको व्यवस्था गोर्खा क्याटरिङ अल्डरसटले व्यवस्था गरेका थिए ।