लमजुङ । बेलायतमा ‘थ्री सिस्टर’ले चिनिने तीन दिदीबहिनी डिलमाया गुरुङ, हेलिशा गुरुङ र बिनु गुरुङले पहिरोमा परेर अभिभावक गुमाएका एकजना बालकलाई सहयोग गरेका छन् ।
असार ११ गते राती लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुमको पहिरोमा परेर अभिभावक गुमाएका ११ वर्षीय निरज गुरुङलाई तीनजना दिदीबहिनीले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
लमजुङको क्व्होलासोथार गाउँपालिका ६, पसगाउँ माइती भएका तीनजना दिदीबहिनीले आफ्ना बुवा तेजमान गुरुङ र आमा तुलदेवी गुरुङको ८४ औं दीर्घायू पूजाको अवसरमा पहिरोपीडिक बालकलाई सहयोग गरेका हुन् । तीनैजना दिदीबहिनी कार्तिक ३ र ४ गते बुवाआमाको दीर्घायू पूजाका लागि बेलायतबाट पसगाउँ आएका थिए ।
तीनजना दिदीबहिनीले गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङलाई सहयोग रकम हस्तान्तरण गरेकोमा गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ र वडा नं. ३ का वडाअध्यक्ष आसबीर गुरुङको रोहबरमा समाजसेवी पित्रमान गुरुङ (पसगाउँ) ले उक्त रकम पीडित बालक निरजलाई प्रदान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष गुरुङले दुःख पर्दा सहयोग गर्ने नेपाली संस्कृति र चलन रहेको र बालकलाई गरेको सहयोगप्रति धन्यावाद ज्ञापन गरे ।
असार ११ गते रातीको पहिरोले निरजका आमा ३७ वर्षीय पञ्चकुमारी गुरुङ, निरजका बहिनी ५ वर्षीया निष्मा गुरुङ र हजुरबुवा ७० वर्षीय रुद्रमान गुरुङको निधन भएको थियो । निरज भने बर्खे बिदा भएपछि छिमेकी गाउँ घाम्राङबाट फर्केका काका नाता पर्ने अमर गुरुङसंग सुत्न गएका कारण जोगिएका थिए । हजुरआमा लिलाकुमारी नजिकै घनपोखराको फ्रेंजोस्थित छोरीज्वाइँको घर गएका कारण जोगिएका थिए । निरजका बुवा कुमबहादुरको ४ वर्षअघि करेन्ट लागेर निधन भइसकेको छ ।