लन्डन । बेलायतमा बर्न्ट ओक नेपाली समाजले रिमेम्ब्रेन्स डे मनाएको छ ।
आइतबार १० नोभेम्बर २०२४ मा बर्न्ट ओक नेपाली समाज हलमा स्थानीय सहिदहरूको सम्झनामा दिउँसो रिमेम्ब्रेन्स डे कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको मूल अवधारणा काउन्सिलर कमल गुरुङले अघि बढाएका थिए । बर्न्ट ओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङ, प्रथम महिला श्रीमती कमला गुरुङ, उपाध्यक्ष मुरारी थापा, कार्यसमिति सदस्यहरू तथा समाजका सम्पूर्ण सदस्यहरूको योगदान र सहयोगले यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको अध्यक्ष खमिरजंग गुरुङले बताए ।
शिवहरि गुरुङले कोहिमा एपिटाफ पाठ गरेका थिए भने उदय गुरुङले गोर्खा ब्रिगेडको झन्डा बोकेका थिए ।
कार्यक्रममा बर्नेट काउन्सिलका विशिष्ट व्यक्तिहरू लर्ड मेयर टोनी भोरोउ र मेयोरेस किंग्स, डिपुटी लेफ्टिनेन्ट मार्टिन रस्सेल एमबीई र श्रीमती रस्सेल, सांसद डेविड पिन्ट-डुसिन्स्की, काउन्सिलरहरू सारा कोनवे, अमर नक्वी, कमल गुरुङ, लाछ्या गुरुङ, कर्नल एन्जेला रिचर्डसन, बर्नेट क्याडेट्सका प्रतिनिधि तथा वाटलिंग कम्युनिटी सेन्टरका पूर्वअध्यक्ष श्री ह्यारी र वर्तमान अध्यक्ष श्री हसु उपस्थित थिए ।
यस्तै धेरै स्थानीय बासिन्दाहरू र बर्न्ट ओक नेपाली समाजका सदस्यहरूले पनि कार्यक्रमलाई समर्थन गर्न उपस्थिति जनाएको बर्न्ट ओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङले जानकारी दिए ।
रिमेम्ब्रेन्स सन्डे प्रथम तथा द्वितीय विश्वयुद्ध र अन्य युद्धहरुका क्रममा ज्यान गुमाएका सैनिक र नागरिकको सम्मानमा मनाइने दिवस हो । यो दिवस बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्डलगायत विभिन्न देशहरूमा विशेष महत्वका साथ प्रत्येक वर्ष नोभेम्बर महिनाको दोस्रो आइतबार मनाइन्छ । जुन समय लगभग प्रथम विश्वयुद्धको समाप्तिको सम्झना गर्ने नोभेम्बर ११ नजिकै पर्छ । यो दिनले युद्ध र सशस्त्र संघर्षका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको योगदानको सम्झना गराउँछ ।
समारोहहरूमा प्रायः विशेष श्रद्धाञ्जलीसभा, शान्तिपूर्ण मौनधारण र वीर सैनिकहरूको सम्मानमा फूल चढाउने कार्यक्रम गरिन्छ ।