लन्डन । ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) ले लन्डन सेनोटाफमा भएको रिमेम्ब्रेन्स सन्डे परेडमा सहभागिता जनाएको छ ।
आइतबार १० नोभेम्बर २०२४ मा भएको पप्पी डेमा उपाध्यक्ष विदुर पाख्रिनको नेतृत्वमा सोसाईटीका ४० जना सदस्यहरुले भाग लिएका हुन् । हजारौंको संख्यामा उपस्थिति रहेको कार्यक्रममा ठीक ११ बजे बीग बेनको घन्टी साथै २ मिनेट मौनधारण गरिएको थियो । तोपको आवाज र बिगुलरको लास्ट पोष्ट सकिएपछि राजा चार्ल्सले राप्ट्रको नाममा सेनोटाफमा रिथ चढाए । रानी क्यामिलको इक्योरी मेजर ओली प्लनकेट, प्रिन्स विलियम, प्रिन्स ऐडवर्ड र प्रिन्सेस एनले पालैपालो रिथ चढाइसकेपछि प्रधानमन्त्री सर केर स्टार्मरले चढाए ।
कन्जरभेटिभ पार्टीका नवनिर्वाचित नेता केमी ब्याडेनोचले पहिलो पटक रिथ चढाए । गृहमन्त्री युभेट कोपर, परराष्ट्रमन्त्री डेबिट लामी, अन्य पार्टीका लिडरहरु कमनवेल्थका प्रतिनिधिहरु, नेभी, थलसेना, एयरफोर्सका प्रमुखलगायतका व्यक्तिहरुले क्रमश: रिथ चढाएका थिए।
कार्यक्रममा ब्रिटेनका सातै जना भूपूप्रधानमन्त्रीहरुको उपस्थिति रहेको थियो । प्रिन्सेस अफ वेल्स र डचेस अफ एडिनबरा बाल्कुनीबाट कार्यक्रम हेरिरहेका थिए । विशिष्ट व्यक्तिहरुबाट रिथ चढाउने क्रम सकिएपछि मार्चपास सुरु गरिएको थियो । बिजिडब्लुएस सी५५ कलोममा परेकाले निकै लामो पर्खाइपछि मार्चपास गर्ने पालो पाएको थियो । सिनोटाफमा आइपुग्दा परेड कमान्डर टेकबहादुर थापाले 'आईज लेफ्ट' गरे भने विदुर पाख्रिनले स्टाफलाई रिथ चढाउन दिए ।
ह्वाइटहलबाट दायाँ मोडिएपछि किङ्ग चार्ल्स स्ट्रीट हुँदै होर्स गार्डस रोडमा पुगियो र होर्स गार्डको पश्चिम किनारको सोलोटिङ ड्यासमा प्रिन्स विलियमले सोलिट लिइरहेका थिए। बिजिडब्लुएस ग्रुपले प्रिन्सलाई "आईज राईट" गरेर ग्राउन्डतिर अघि बढे।
सदाझैं पहिलो कार्यक्रम सकिएपछि रक्षा मन्त्रालयको आँगनमै अवस्थित गोर्खा प्रतिमा तर्फ लागे । लडाइँमा वीरगति प्राप्त गरेका पुर्खाहरुको नाममा २ मिनेट मौनधारण र सोसाईटीको तर्फबाट उपाध्यक्ष पाख्रीन र ६ गोर्खाको नामबाट मेजर कुलबहादुर थापाले रिथ चढाए । पाईपर कृष्ण राईको ब्याक पाईपको धुनले मोहित भएको देखिन्थे । धेरै विदेशीहरु त सँगै फोटो खिचाए ।
लन्डनको कार्यक्रम सकिएपछि व्यवस्थित कोचमा अल्डरसटस्थित पहिलो भीसी कुलवीर थापाको प्रतिमामा रिथ चढाउन आइपुगे । सोसाईटीका तर्फबाट सिनियर अफिसर मेजर कुलबहादुर थापाले रिथ चढाए । बिहान साढे ७ बजे फार्नबोरोबाट कोच चढेर गएका टोली दिउँसो साढे ३ बजे आफ्नै घर गोर्खा भवनमा आइपुग्यो । फ्रेस मेसिङ र ड्रिङ्सको बन्दोबस्त सोसाईटीबाटै मिलाइएको थियो । त्यसको ब्यवस्थापन ओम थापा काउचले गरेका थिए । पाईपर कृष्ण राईलाई मेजर थापाले खादा लगाएर संस्थाको तर्फबाट धन्यवाद दिए ।
रिमेम्ब्रेन्स सन्डे प्रथम तथा द्वितीय विश्वयुद्ध र अन्य युद्धहरुका क्रममा ज्यान गुमाएका सैनिक र नागरिकको सम्मानमा मनाइने दिवस हो । यो दिवस बेलायत, क्यानडा, अष्ट्रेलिया, न्युजिल्यान्डलगायत विभिन्न देशहरूमा विशेष महत्वका साथ प्रत्येक वर्ष नोभेम्बर महिनाको दोस्रो आइतबार मनाइन्छ । जुन समय लगभग प्रथम विश्वयुद्धको समाप्तिको सम्झना गर्ने नोभेम्बर ११ नजिकै पर्छ । यो दिनले युद्ध र सशस्त्र संघर्षका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको योगदानको सम्झना गराउँछ । समारोहहरूमा प्रायः विशेष श्रद्धाञ्जलीसभा, शान्तिपूर्ण मौनधारण र वीर सैनिकहरूको सम्मानमा फूल चढाउने कार्यक्रम गरिन्छ ।
रिमेम्ब्रेन्स सन्डेको मुख्य समारोह लन्डनको सेनोटाफमा बेलायती राजपरिवारका सदस्यहरू, राजनीतिक नेता, सैनिक अधिकारीहरू र सर्वसाधारणको उपस्थितिमा सम्पन्न हुन्छ । यो दिन राता पप्पी फ्लावर लगाउने परम्परा छ, जुन मृत्यु भएका वीरहरूको प्रतीकका रुपमा लगाइन्छ । रिमेम्ब्रेन्स सन्डेले युद्धका क्रममा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्छ र आगामी पुस्तालाई शान्ति र सहअस्तित्वको सन्देश दिने अगुवाहरु बताउँछन् ।