लन्डन । ग्रेटर रसमूर नेपाली कम्युनिटीको आयोजनामा झन्डै २०० जना सहभागी भई ९ नोभेम्बर २०२४ का दिन ‘रेमेम्बरेन्स डे’ मनाइएको छ ।
अल्डरसटको प्रिन्सेस् गार्डेनमा सांसद, नेता, मेयर, काउन्सिलर, भुपू ब्रिटिस गोर्खाहरू, वहलवाला सेनाहरू भेला भई रेमेम्बरेन्स डे मनाइएको हो । त्यस अवसरमा पूर्वगोर्खाहरूको सक्रियतामा निर्मित पहिलो भिक्टोरिया क्रस (भीसी) कुलवीर थापाको स्मारकमा पालैपालो रिथ अर्पण गरिएको थियो ।
रिथ चढाउनेहरूमा रसमूरका मेयर मारा मकुनुरा, सांसद एलेक्स बेकर, अल्डरसटका ग्यारिजन कमान्डर, जीआरएनसीका अध्यक्ष मान गुरुङ, क्यूओजीएलआरका गोर्खा मेजर भीम सिरिश मगर र अन्य संघसंस्थाका दर्जनभन्दा बढी व्यक्ति थिए।
कार्यक्रमका सहसंयोजक क्या. राजेन्द्रमान गुरुङको पहलमा द ओल्ड बेसीङ रोएल ब्रिटिस लिजन ब्यान्ड, बिकुलर र स्टायन्डर ब्यरियरको उपस्थिति र प्रस्तुति रौनक देखिएको थियो।
संयोजक मेजर खेम गौचनको पहलमा क्यूओजीएलआरका ४५ जना जवानहरूको सहभागी र मार्चपास उत्तम देखिएको थियो। उक्त समूहमा कमान्डर, गोर्खा मेजर र आरएसएम लगायतको सहिभागिता थियो।
कार्यक्रममा ग्रेटर रसमूर नेपाली कम्युनिटी यूके (जीआरएनसी), गोर्खा मेमोरियल प्रोजेक्ट टिम, एनआरएनए यूके, शिव मन्दिर अल्डरसटलगायत अन्य संस्थाहरूको पनि सहभागिता थियो । रेमेम्बरेन्स डेमा सेनाका अधिकृतहरू र जवान, संसद्का सदस्य, काउन्सिलर, एनआरएनए युकेका अध्यक्षलगायत सर्वसाधारण, सामाजिक व्यक्तित्व र स्थानीय निकायको बाक्लो सहभागिता थियो ।
रेमेम्बरेन्स डे पहिलो र दोस्रो विश्वयुद्धमा शहादत प्राप्त सम्पूर्ण अग्रजहरुको सम्झनामा मनाइने गरिन्छ । जीआरएनसीले पनि निरन्तर रूपमा मनाउँदै आएको छ।
कार्यक्रममा धर्म गुरुद्वय बीसीसी यूके र शिव कल्चर एन्ड कम्युनिटी सेन्टरबाट आएका थिए । उनीहरुले मन्त्र वाचन गरेका थिए ।
संयोजक तथा उपाध्यक्ष उत्तरबहादुर गुरुङ र मेजर खिम गौचनले कार्यक्रम सञ्चालन गरेका थिए ।