काठमाडौँ । लन्डनमा आयोजित ‘वर्ल्ड ट्राभल मार्केट २०२४’ (डब्ल्यूटीएम) मा नेपालले सहभागिता जनाएको छ।
२०८१ कात्तिक २० देखि २२ गते (५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वर्ल्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व पर्यटन उद्योगको ध्यान आकर्षित गरेको छ।
कुल १८४ देशबाट ४३ हजार प्रतिनिधि र ३ हजार ८७५ प्रदर्शक सहभागी, डब्ल्यूटीएममा ८२ वटा सम्मेलन सत्र आयोजना गरिएको थियो।
हालै लोन्ली प्लानेटद्वारा २०२४ का लागि ‘बेस्ट इन ट्राभल’ गन्तव्यका रूपमा घोषित भएपछि यस वर्ष डब्ल्यूटीएममा नेपालको उपस्थिति थप महत्त्वपूर्ण बनेको छ ।
वर्ल्ड ट्राभल मार्केटमा नेपालको सहभागिताले नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुन सघाउने र यसले नेपाललाई शीर्ष अन्तर्राष्ट्रिय गन्तव्यका साथ उभ्याउने नेपाल बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए ।
नेपाल विश्वका लागि आकर्षक गन्तव्यका रूपमा रहेको सन्दर्भमा नेपाललाई साहसिक यात्रा, अध्यात्म र सम्पदाको संयोजनको गन्तव्यका रूपमा थप परिचित र बलियो छवि बनाउने कार्यमा यो सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
डब्ल्यूटीएमा नेपालबाट विभिन्न ट्राभल कम्पनी, होटल, रिसोर्ट लगायतका प्रतिनिधिको सहभागिता थियो।