काठमाडौं । बेलायतलगायत देशमा रहेका तामाङ संस्थाहरुले काभ्रेपाल्चोकका बाढीपहिरो प्रभावितहरुलाई १७ लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् ।
गत असोज १०–१२ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ज्यान गुमाएका परिवार र पहिरोबाट प्रभावितहरुलाई राहत दिन तामाङ समाज युके, नेपाल तामाङ घेदुङ इजरायल, नेपाल तामाङ घेदुङ रोमानिया, नेपाल तामाङ समाज जापान, तामाङ समाज पोर्तुगल, तामाङ समाज बेल्जियम, नेपाल तामाङ घेदुङ मलेसिया र प्रवासी सृजनशील महिला समूह इजरायलले सहयोग उपलब्ध गराएको नेपाल तामाङ घेदुङका महासचिव जगतमान लामा (दोङ) ले जानकारी दिएका छन् ।
उक्त सहयोग रकम नेपाल तामाङ घेदुङको सहकार्य र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा मंगलबार काभ्रेको तेमाल गाउँपालिका वडा नं. १, २, ४, ७ र नमोबुद्ध नगरपालिका वडा नं. ५ का मृतक परिवारलाई प्रतिव्यक्ति २४ हजार र पहिरोबाट प्रभावित परिवारलाई ३ हजार ५ सय रुपैयाँका दरले परिषद्का महासचिव टासी लामा र घेदुङका महासचिव जगतमान लामा (दोङ) ले संयुक्त रुपमा हस्तान्तरण गरे ।
नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्सँग सम्बद्ध विभिन्न संघसंस्था र नेपाल तामाङ घेदुङका सल्लाहकार र कार्यसमिति समेत गरी कूल लाख १७ लाख १८ हजार २९० संकलन भएको थियो । मृतक परिवारलाई राहत वितरणका लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका महासचिव जगत दोङ, नेपाल तामाङ घेदुङ विपद् व्यवस्थापन समितिका सदस्य हिरालाल तामाङ, नेपाल तामाङ घेदुङ काभ्रेका अध्यक्ष राजकुमार तामाङ, सचिव निमा ब्लोन, नेपाल तामाङ घेदुङ इजरायलका प्रतिनिधि कुमारी गाल्देन र तामाङ समाज जापानका प्रतिनिधि दिपेन्द्र योन्जन र पत्रकार अनिस तामाङसमेत पुगेका थिए ।
नेपाल तामाङ घेदुङको हालै बसेको सचिवालय बैठकले बाढी पहिरोबाट अतिप्रभावित काभ्रेका रोशी, तेमाल, बेथानचोक, नमोबुद्ध र ललितपुरको कोन्ज्योसोम, महांकाल र बागमती गाउँपालिकाका मृतक परिवारलाई राहत वितरण गरिने दिने निर्णय गरेको थियो ।
उनले केहीदिनभित्र तोकिएका बाँकी क्षेत्रमा पनि राहत वितरण गरिने बताए ।