- माया गुरुङ
लन्डन । वेक्स्ली नेपाली समाज यूकेले २०८१ सालको देउसीभैलो कार्यक्रम परम्परागत रूपमा भव्यताका साथ सम्पन्न गरेको छ । समाजका उपाध्यक्ष बाला प्रसाईं संयोजक रहेको देउसीभैलो कार्यक्रम अहिल्या कुँवारले सञ्चालन गरेका थिए ।
समाजका सल्लाहकार माया गुरुङद्वारा अध्यक्ष डाक्टर हरिश ज्ञावलीलाई मखमली, सयपत्री फूलमालाको साथमा ढाकाको टोपी पहिऱ्याएर देउसीभैलो कार्यक्रम सुरु गरिएको थियो । समाजका अध्यक्ष डाक्टर हरिश ज्ञवाली, संस्थापक अध्यक्ष केश बहादुर गुरुङ, पूर्व अध्यक्षद्वय विजय बहादुर गुरुङ र आनन्द धरेलले शुभकामना दिएका थिए ।
साँझ मखमली, सयपत्री फूलमाला र घर दैलोमा लस्करै बत्तीको उज्यालो, लक्ष्मीपूजा, सेलरोटी र मेवा मिष्टान्नको वासना, महिला पुरुष, केटाकेटी नेपाली पोसाकमा सजिएर मादल घन्काउँदै नाचेका थिए । नेपालीपन झल्काउने नाचगान गरेको सो कार्यक्रम बेलायतमा नभई नेपालकै भूमिमा जस्तै भान भएको थियो । नानी बाबुहरूले समेत सक्रिय भएर कार्यक्रममा सहभागिता जनाएको तिहारको रौनक रोचक र प्रवासी सबैका लागि सन्देशमूलक देखिएको थियो ।
व्यस्ततालाई पन्छाएर वेक्स्लीवासी सदस्य धेरैले घरमा निम्ता गरेको भए पनि अर्को वर्ष जाने निर्णय गर्दै तीन दिन साँझपख वेक्स्ली नेपाली समाजका सदस्यहरू ईन्द्र गिरी, रिजु अधिकारी, उमेश गौतम, नलिनी शर्मा, मनीष भारद्वाज, वासु अर्याल र प्रदीप चालिसेका घरमा खेलिएको थियो ।
नेपाली मौलिक भेषभूषामा नेपाली संस्कार- संस्कृति र पहिचानको जगेर्ना गर्दै लुना अधिकारी न्यौपाने, सेजल गौतम, ईभा थापा, सुभ्रित गौतम र रोशन गौतमले नेपाली नृत्य वा नाचगान गरेका थिए । देउसीभैलो भट्याउनेहरूमा हेमान्त सेडाई, विमला सेडाई, उपाध्यक्ष केदार थपलिया, वसन्त सापकोटा, उपाध्यक्ष बिजिता गौतम र सविता बराल थिए ।
विदेशमा रहेर पनि घरमै देउसीभैलो निमन्त्रण गरी दक्षिणा, अतिथि सत्कार गरेर जुन कार्य गरेका छन्। वास्तवमा त्यो वर्तमान परिवेशमा अति नै सराहनीय छ ।