काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा दुई दिने 'एनआरएनए ग्लोबल कन्क्लेभ' सुरु भएको छ । यही अवसरमा वार्षिक साधारणसभासमेत हुनेछ।
रूपान्तरण र एकताः श्रममा, लगानी, र नागरिकताको निरन्तरता भन्ने मुल नाराका साथ ग्लोबल कन्क्लेभ-२०२४ आयोजना गरिएको एनआरएनएले बताएको छ। कार्यक्रमको उद्घाटन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । त्यसक्रममा मन्त्रीहरू, सरोकारवाला तथा विज्ञहरूको समेत सहभागिता रह्यो ।
कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहनेछन्। कार्यक्रममा स्वदेश तथा विदेशका ५ सय भन्दा बढी व्यक्तिको सहभागिता रहने अपेक्षा लिइएको छ।
कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा छलफल हुनेछ।
कार्यक्रमको दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश छन्।
यस अवसरमा एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको कोष) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे पनि छलफल हुनेछ। जसले गैरआवासीय नेपालीहरूले नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने तथा दीर्घकालीन परियोजनाहरूलाई सहयोग पुर्याउने विश्वास लिइएको छ।