लन्डन । सोंपाल समाज यूकेको देउसीभैलो तथा सल्लाहकार सम्मान कार्यक्रम भव्य रूपमा भएको छ । २६ अक्टोबर २०२४ मा सडबरी हिल पोस्ट अफिस क्लबमा वरिष्ठ उपाध्यक्ष भरत गुरुङको संयोजकत्वमा कार्यक्रम भएको हो ।
महासचिव क्या. मोहन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । संस्थाका अध्यक्ष जगदीश गुरुङ, आमा अध्यक्ष मनदेवी गुरुङ संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ संस्थापक आमा अध्यक्ष नाईन्द्रा गुरुङले द्वीप प्रज्वलन गरेर कार्यक्रम सुरु गरेका थिए । उपस्थित सबैले सयपत्री फूलले सजाइएको हलमा बत्ती बालेर हललाई भव्य बनाएका थिए ।
कार्यक्रमको पहिलो भागमा सल्लाहकारहरूलाई अध्यक्ष जगदीश गुरुङ तथा आमा अध्यक्ष मनदेवी गुरुङले खादा र फेटा लगाएर सम्मान गरेका थिए । महिला सल्लाहकारलाई भने खादा र क्रमूले सम्मान गरिएको थियो । तमु धीं यूकेले आयोजना गर्ने वार्षिक कार्यक्रम च्यारिटी डिनरमा प्रदान गरिने ‘तमु आदर्श अवार्ड’बाट सम्मानित भएका सल्लाहकार क्या. प्रेम बहादुर गुरुङ र उनको धर्मपत्नी रत्न गुरुङलाई समाजको नाम उच्च र गौरवान्वित बनाएको खुशीयालीमा खादा, फेटा, क्रमु र फूलको गुच्छाले भव्य सम्मान गरियो ।
यसैगरी, देउसीभैलो कार्यक्रमको दोस्रो भागमा संस्थापक अध्यक्ष विजयबहादुर गुरुङले दिपावलीको शुभकामना सन्देश दिएका थिए । त्यसपछि देउसीभैलो कार्यक्रम भव्य बनाउन मादल र डम्फुको तालमा देउसी भट्ट्याउँदै नाचगान सुरु भएको थियो । दक्षिणा पनि प्रदान गरिएको थियो । उपस्थित सबैले देउसीभैलोको मज्जा र आनन्द लिएका थिए ।
कार्यक्रममा आमाहरूले आआफ्ना घरबाट विभिन्न परिकार लिएर आएका थिए । अन्त्यमा आमा अध्यक्षले दिदी बहिनीलाई खानाको परिकार उपलब्ध गराएकामा धन्यवाद दिएकी थिइन् । उनले फेरि पनि आमाहरूबाट यस्तै साथ र सहयोगको अपेक्षा राखिन् ।
अध्यक्षले छोटो मन्तव्यसँगै उपस्थित र उपस्थित नसके पनि समाजलाई दान दक्षिणाद्वारा माया गर्ने सोंपाल परिवारका सदस्यलाई माया ममताको अपेक्षा राख्दै आभार तथा धन्यावादसहित कार्यक्रम समापन गरेका थिए ।