दंग पर्छु तिम्रो जवानी देख्दा
हिजै जस्तो लाग्छ गुच्चा खेलेको
गाजल, खुट्टामा पायल थपिएछ
छातीको धरातल मनग्गै उठिसकेछ
ठूलीसँग घाँटीछिनामा जम्काभेट
तीन वर्षमा भेट्दा मनै सिरिङ्ग
मनको चञ्चलता कति स्वार्थी छ
यसैलाई पञ्चेबाजा बजाउनु पर्छ
उनी सर्माइन्, नदेखे जस्तो गरिन्
म छेवैमा गएर बसिदिएँ, सन्चै छौँ
तिमीले त माया मार्यौ है हामीलाई
तीन–तीन वर्षसम्म अत्तोनपत्तो
ठूली परदेशको ठाउँ, सरकारको नुन
सम्झना त थियो नि, कसरी भुल्न सक्छु
हर्पनको सुना र हुट्टी कता छन्
हेर हेर लाहुरे, राम्री केटीको मात्र ख्याल
सोधेको मात्र, हृदयमा त तिमी नै हौँ
कुरा नबनाऊँ, साँच्ची कतिको छुट्टी
तिमीलाई डोली चढाएर लान भ्याउँछु
लाज नभएको, बाआमाले दिनु परेन
जिस्काई बस्छौँ, चिया खुलाउने होइन
किन हतार, अबको दिन त हाम्रै हो
अलि नजिक आउँ न, कत्ति राम्री तिमी
धेरै नफुर्काऊ, म सधैँ यत्तिकै त छु
खोइ त मलाई के ल्याइदिएका छौ
हङकङमा राम्रा कुरा पाउँछ भन्छन्
म खाली हात आउँछु त लाटी
फेमस पर्फ्युम ‘च्यानल पेरिस’ तिमीलाई
हाईस्कुल सकिएपछिको पहिलो भेट
ठूली पीएन क्याम्पस तेस्रो वर्ष पढ्दै
प्रेम हङकङबाट पहिलो छुट्टी आउँदै
बचपनदेखिको साथी अति मिल्ने साथी
वाह! पर्फ्युम त कत्ति मिठो वासना
ठ्याक्कै तिम्रो सुन्दरतासँग मिल्ने
थाहा भयो लाहुरेले नबिर्सिएको रहेछ
ठूलीको मनमा काउकुती चल्न थाल्यो
पर झोर्लुंगे पुलमा जाऊँ न
ठूलीले कुरा बुझिहाली, समाउन
ठूली पुलमा डराउँछिन्, प्रेमको मौका
स्कुल जाँदा आउँदा, त्यही पुलमा
भरखरै पन्ध्र सोह्रका हुँदा पुल तर्दा
प्रेम र ठूलीले हात समाउने ठाउँ
दुवैले भुलेका छैनन्, विगतका सम्झना
दुवै पुलतिर लागे, फेरि हात समाउँदै
टाढाबाट देखिन सकिन्थ्यो, एक जोडी
कहिले अंकमल गर्छन्, छाती टसाउँछन्
धेरै लामो चुम्बन गर्छन्, लोभलाग्दो दृश्य
जोडीलाई उज्ज्वल भविष्यको शुभकामना
दंग पर्छु तिम्रो जवानी देख्दा