लन्डन । गोर्खा मिडिया यूकेले विभिन्न कार्यक्रमसहित चौथो वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आइतबार २० अक्टोबर २०२४ विशेष समारोहबीच गोर्खा मिडियाले वार्षिकोत्सव मनाएको हो ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि सेने, प्रबन्ध निर्देशक तमुले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
सहसम्पादक प्रकाश गुरुङले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार तथा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । सुरक्षाबारे उद्घोषक प्रकाशले नै जानकारी गराएका थिए ।
उक्त अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्याउने ६ जना समाजसेवी तथा प्रेरक व्यक्तित्वहरूलाई खादा, दोसल्ला, मायाको चिनो, नगद प्रमाणपत्रले सम्मान गरिएको थियो । कर्मभूमि बेलायतमा रहेका तमु धीं यूकेका अध्यक्ष तथा समाजसेवी हरि गुरुङ, तमु समाज यूकेका निवर्तमान अध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङ, युवा व्यवसायी धन तामाङ र मिस यूके नेपाल २०१७ की उपाधि विजेता सिर्जना गुरुङलाई सम्मान गरिएको हो ।
यस्तै नेपालमा रहेका दुई जना वरिष्ठ कलाकारलाई पनि गोर्खा मिडियाले नगदसहित पुरस्कार दिने घोषणा गरेको छ । लोकगायिका लमजुङकी मायादेवी थापा गुरुङ र कास्कीका अभिनेता गमबहादुर गुरुङ जनही १५ हजार रुपैयाँ प्रदान गरिने भएको हो । उनीहरु नेपालमा रहेकाले निकट समयमै अर्को कार्यक्रममार्फत सम्मान प्रदान गरिने गोर्खा मिडियाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेले पत्रकारहरूले संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने समय रहेको बताइन् । गोर्खा मिडियाले छोटो समयमा नै बेलायतमा मात्र नभएर संसारभर रहेका नेपालीमाझ छुट्टै पहिचान बनाएको उनको भनाइ थियो ।
सम्मानित व्यक्तित्व तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले गोर्खा मिडियाले दिएको सम्मानले सामाजिक सेवामा लागिरहन थप ऊर्जा तथा उत्प्रेरणा प्राप्त भएको बताए । ‘गोर्खा मिडियाको वार्षिक उत्सवको पावन अवसरमा मलाई मेरो बर्कतले भ्याएसम्म तमु समाज यूके र अन्य माध्यमबाट पुर्याएको सामाजिक सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गर्नुका साथै यस विशेष कार्यक्रममा शुभकामना मन्तव्य प्रदान गर्ने अवसर प्रदान गर्नु भएकोमा प्रति हार्दिक कृतज्ञता सहित आभार प्रकट गर्दछु। यहाँहरूबाट प्राप्त सम्मान, सद्भाव, र मायाले मलाई आगामी दिनमा पनि निरन्तर रूपमा सामाजिक सेवामा लागिरहन थप ऊर्जा तथा उत्प्रेरणा प्राप्त भएको महसुस गरेको छु,’ उनले भने ।
गोर्खा मिडियाले गरेको प्रगति बेलायतवासी नेपाली समुदायको पनि प्रगति भएको सम्मानित व्यक्तित्व तथा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले बताए । गोर्खा मिडियाले अझै ठूलो सफलताका साथ सयौँ वार्षिकोत्सव मनाओस् भन्दै उनले कामना गरे ।
सम्मानित व्यक्तित्वहरू धन तामाङ र सिर्जना गुरुङले पनि गोर्खा मिडियाले दिएको सम्मानले आफूलाई झन् राम्रो काम गर्ने हौसला मिल्ने बताए । अन्य विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गोर्खा मिडियाको सफलता र प्रगतिको कामना गरेका थिए ।
एनआरएनए आईसीसी सल्लाहकार तथा एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमू समाज यूकेका अध्यक्ष विन्दु घले, काउन्सिलर धन सार्की, ट्राभलकन्सलका मेनेजिङ डाइरेक्टर बिराज भट्ट, शीतलपाटी डटकमका सम्पादक वाचस्पति रेग्मी, एभरेस्ट टाइम्सका सम्पादक जमुना पुन, तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. डेम बहादुर योज तमुले शुभकामना मन्तव्य राखेका थिए ।
गोर्खा मिडियाका सल्लाहकार एकेन्द्र गुरुङले मन्तव्य राख्दै उपस्थित पाहुनाप्रति धन्यवाद तथा आभार व्यक्त गरे । कार्यक्रममा उपस्थित सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । अन्त्यमा प्रबन्ध निर्देशक मिलन तमुले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।