लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायत भ्रमणमा रहेका धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ राईलाई स्वागत तथा सम्मान गरेको छ ।
आइतबार २० अक्टोबरका दिन बीसीसी यूकेको अल्डरसटस्थित गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायतले खादा लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।
हर्क साम्पाङ दुई वर्षअघि भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र रूपमा मेयर पदमा विजयी भएका थिए । पदभार सम्हालेदेखिनै जनताका समस्यालाई प्राथमिकतामा राखी नगर विकासमा खरो उत्रन सफल मेयर साम्पाङलाई बीसीसी यूकेले स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले बीसीसी यूकेको स्थापना, यसले भक्तजनलाई दिँदै आएको विभिन्न सेवाबारे जानकारी गराउँदै मेयर साम्पाङलाई न्यानो स्वागत गरे । सो अवसरमा अध्यक्ष गुरुङले मेयर साम्पाङले सञ्चालन गर्दै आएका विभिन्न प्रोजेक्टका लागि एक लाख रुपैयाँ सहयोग प्रदान गरे ।
उक्त स्वागत कार्यक्रममा मेयर साम्पाङले दीप प्रज्वलन गर्दै पवित्र ठाउँमा गर्न पाएको महत्त्वपूर्ण भेटघाट र पाएको समय तथा सम्मानका लागि बीसीसी यूकेलाई धन्यवाद दिँदै बुद्धको शिक्षालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।
बीसीसीले गत तीन दिनदेखि सञ्चालन गर्दै फोवा अभ्यासका भक्तजनको समेत उपस्थिति रहेको सो कार्यक्रममा शेछेन गुम्बाका दोर्जीन लुङ्गरिक रिन्पोछे, बीसीसी गुम्बाका प्रमुख लामा खेन्पो शेनाङ तामाङ, लोपेन दावा, लोपेन नोर्बु, लामा हर्कजंग, लामा प्रदीपलगायत धर्म गुरुहरूको उपस्थिति थियो ।
त्यस्तै, बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ एमबीई, पूर्वअध्यक्ष नरेश गुरुङ, पूर्वअध्यक्ष धर्म तामाङ, बीसीसी यूके लन्डन शाखा प्रमुख गोपाल तामाङ, पूर्व आमाप्रमुख पुष्प गुरुङ, पूर्व आमाप्रमुख उर्मिला गुरुङलगायत आमाहरु, सल्लाहकार तथा पदाधिकारीको उपस्थिति थियो ।
बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले सञ्चालन गरेका थिए ।
बीसीसी यूकेले ३ हप्ताअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतलाई समेत स्वागत तथा सम्मान गरेको थियो।