ऐतिहासिक गुरुङ चलचित्र 'पातें'का नायक प्रितम गुरुङ यतिबेला बेलायतमा छन् । गुरुङ चलचित्र ‘नुमा’का निर्माता ओमेन्द्र गुरुङ र श्रीप्रसाद गुरुङको निमन्त्रणामा प्रितम पहिलो पटक बेलायत आएका हुन् । २५ नोभेम्बर बेलुकी बेलायत आएका नायक गुरुङ २७ नोभेम्बर २०२२ (मंसिर ११ गते) आइतबारमा गुरुङ चलचित्र ‘नुमा’ प्रदर्शनमा सहभागी भए । गुरुङ चलचित्रका लेखक, निर्देशक र निर्माताका रुपमा समेत परिचित छन् प्रितम । उनै नायक गुरुङसँग नुमा प्रदर्शनस्थलमा सूर्य गुरुङले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश ।
पहिलो पटक यूके आउँदा कस्तो महसुस भइरहेको छ ?
- हो, म पहिलोपटक यूकेमा आएको छु । तपाईंहरुको मायाको कारण आएको छु । खुसी छु । यो खुसी शब्दमा वर्णन गर्न सक्दिनँ ।
पहिलो गुरुङ चलचित्र ‘पातें’मा अभिनय गर्ने अवसर पाउनुभयो । गुरुङ चलचित्रको पहिलो नायक बन्नुभयो । कति समय अघिको कुरा हो यो ?
- मैले पहिलो गुरुङ चलचित्र पातेंमा पहिलो नायक बन्न पाएँ । २०५२ वैशाख २३ गतेको कुरा हो । भर्खर एसएलसी सकाएर क्याम्पस जोइन भइरहेको थिएँ । यो मेरा फुपूका कारण यहाँ छु । त्यो समय रोधी परिवार संस्थाले रोधी साप्ताहिक पत्रिका प्रकाशन गर्थ्यो । प्रधान सम्पादक चरणध्वज दाइ हुनुहुन्थ्यो । त्यहीबाट चलचित्र बनाउने सोंच आयो । रुचि भयो । फिल्मको टिम पनि बन्यो । चलचित्र पनि बनाइयो । इतिहासमा पहिलो पटक गुरुङ चलचित्र बन्यो भनेर चिनियो । गर्व गर्छु ।
अहिलेसम्म कतिवटा फिल्म बनाउनुभयो ?
- गुरुङ भाषामा फिल्म बनाउने एउटा समय थियो, स्पिडमा काम गरियो । वर्षमा ४/५ वटा चलचित्र पनि बनाएको थिएँ । पछिल्लो समय कोरोनाले ब्रेक लगायो । केही समय बिरामी भएँ । अहिलेको 'नुमा' फिल्म मेरो ४८ औं चलचित्र हो । अब पनि दुइटा बनाउने सोंचमा छु । एउटा निर्देशकले पचासौं फिल्म बनायो भन्ने बनाउँछु । ५० औं फिल्म बनाउन सक्न पाउँ, त्यही इच्छा छ ।
सायद, विश्वमा नै एउटै व्यक्तिले यति धेरै फिल्म बनाएको छैन होला । गिनिज बुकमा नाम लेख्नु त छैन, मात्र जीवनको लक्ष्य ५० औं फिल्म बनाउन पाउँ । एउटा गर्भिलो कार्यक्रम गर्न पाउँ । गुरुङ समुदायको सधैं ननिभ्ने दियो बन्न पाउँ । म नेपाल छिटो जानुको कारण पनि म 'रिपा' चलचित्रको तयारीमा छु । यहाँको कार्यक्रम सकेर परिवारको सहयोगबाट यहाँहरुमाझ फिल्म ल्याउनेछु । ५० औं फिल्म समाजलाई सन्देश दिने खालको बनाउँछु । नमर्ने खालको चलचित्र बनाउँछु । चलचित्रको यात्रामा पनि समस्या हुन्छ । गुरुङ चलचित्रको समस्या लेखकको, निर्देशकको रचनामा भन्दा निर्माताको दबाबमा काम गर्नुपर्छ । उनीहरुले छानेको कथा, छानेको कलाकार र ठाउँ पनि । ५० औं फिल्म भने मेरो समुदायको हिस्सा बोल्ने खालको बन्छ । निर्माताको हस्तक्षेप हुँदैन ।
भाषिक चलचित्र बनाउन कत्तिको गाह्रो छ ? कि सहज छ ?
भाषिक चलचित्र बनाउने, मार्केटिङ गर्न थालेको २५ औं बसन्त पार भएको छ । चलचित्रले दिएको भनेको गीत, संगीत नै हो । चलिरहने गीत, संगीत नै हो । विदेशमा समेत विवाह, भोजभतेर हुँदा गुरुङ गीत गुन्जिएको हुन्छ । यो चलचित्रले दिएको हो । गुरुङ मौलिक भेषभूषाप्रति आकर्षण गराउन टेवा पुर्याएको छ । गुरुङ कलाकारलाई विदेश यात्रामा पनि सहज बनाएको छ । जुन मैले पनि अवसर पाएँ, यो क्षण भुल्न सक्दिनँ । आत्मियता बढेको छ । यात्रामा तमुधिं यूकेका लागि अविष्मरणीय क्षण हुने छ ।
२५ वर्ष पहिले १०० रुपैयाँको टिकट बिक्री हुन्थ्यो । अहिले पनि १०० को टिकट बिक्रीमा लागेका छौं । समुदायले प्रायोजन गरेका कारण चलचित्र बाँचेको छ । समुदायले निरन्तरता राख्ने काम गरेको छ । आम्दानीको स्रोत चलचित्र हो । औंलामा गनिने व्यक्तिलाई टिकाइराखेको छ । नेपाली चलचित्र पछिको दोस्रो चलचित्र क्षेत्र गुरुङको हो । त्यत्ति हुँदा पनि समुदायभन्दा बाहिर जान सकेनौं । संघीयताले निराकरण हुन्छ कि, अबको पालामा हुन्छ कि मेरो पालामा नभए पनि ।
चलचित्रमा अभिनय गर्दा वा भोग्दा माया भनेको के लाग्छ ?
मेरो करियरमा अहिलेसम्म आउँदा चलचित्रको स्रोत आफ्नो अनुभव, पढेको कुरा र सुनेका कुरा आधार हो । लेख्दा पनि त्यही हो । जिन्दगीको कलाकारिताको यात्रा गर्दा, चलचित्रको कथा बनाउँदा धेरै मान्छेसँग मिल्न सक्छ । सबै मैले भोगेको हो भन्ने होइन । म त खुला किताब हो । जसले पनि पढ्न सक्छ । राम्रा नराम्रा कुरा सामाजिक सञ्जालमा लेख्छु । कोरोनापछि जीवनको दोस्रो जन्म लिएको छु । १/२ जनासम्म गरिने भन्दा पनि ९९ जनासँग गरिने माया हो । परिवार ठूलो आत्मबल हो । दाहिने हातमा परिवार र देब्रे हातमा समुदाय छ । मेरो लागि माया त्यही नै हो । दुवै माया नै ठूलो हो ।
मेरो करियरमा पहिलो पटक यूके आएको छु । धन्यवाद शब्द अपूर्ण हुन्छ । नुमा चलचित्रका निर्माताद्वय ओमेन्द्र गुरुङ र श्रीप्रसाद गुरुङलाई धन्यवाद छ । तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ दाइ र सम्पूर्ण कार्यसमितिले मलाई यहाँसम्म ल्याउन ठूलो भूमिका खेल्नुभएकोमा विशेष धन्यवादसहित आभार प्रकट गर्न चाहन्छु ।