लन्डन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दुई हप्ते भ्रमणका लागि सपरिवार बेलायत आइपुगेका छन् । धरानको चिन्डे डाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाका लागि सहयोग संकलन अभियानलाई अघि बढाउने उद्देश्यसहित मेयर साम्पाङ बेलायत आएका हुन् ।
भ्रमण आयोजक धरान समाज यूके, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति यूके, किरात राई यायोक्खा यूके, एनआरएन यूके, गोर्खा नेपाली समाज मेडवे, किरात बान्तावा खिम यूके, किरात साम्पाङ राई जुम्लेखा यूकेलगायत संघसंस्था, पत्रकार र समाजसेवीले साम्पाङलाई हिथ्रो विमानस्थलमा भव्य स्वागत गरेका थिए ।
धरान समाज यूकेका अध्यक्ष रमेश लिम्बु, कार्यक्रम संयोजक उपाध्यक्ष भास्कर राईसहित कार्यसमिति, किरात राई यायोक्खा यूकेका डा. महा राई, किरात साम्पाङ राई जुम्लेखा यूकेका अध्यक्ष शिव राई, लन्डन नेपाल न्युजका प्रमुख शिव भण्डारी, सुम्निमा पारुहाङ आर्थिक सहयोग संकलन समिति यूकेका भगवान चाम्लिङ, गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भविन साम्पाङ लगायतले खादा, माला र फूलको गुच्छा दिएर स्वागत गरेका थिए।
विमानस्थलमा छोटो मन्तव्यका क्रममा मेयर साम्पाङले धरानका परियोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। इमानदार भएकैले आफूले विदेशमा पनि स्वागत पाएको र देशका इमानदारिताको खडेरी परेको उनको भनाइ थियो।
मेयर साम्पाङ श्रम संस्कृतिका प्रवर्तकका रूपमा चर्चित छन्। नागरिकबीच सत्य बोल्न नडराउने दृढ नेताका रूपमा उनको रवि रहेको छ। उनको भ्रष्टाचारविरुद्धको अडानले पनि विशेष चर्चा पाउने गरेको छ।
बेलायत भ्रमणका क्रममा मेयर साम्पाङले विभिन्न शहरका मेयरसँग भेटघाट, संसद् भवनको भ्रमण र अन्य विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी २ नोभेम्बरमा नेपाल फर्किने कार्यक्रम छ।
-भूमिराज राई
मेडवे केन्ट, यूके