लन्डन । गोर्खा मिडिया डटकम यूकेले चौथो वार्षिकोत्सवको अवसरमा ५० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री सहयोग गरेको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ मा रहेको पञ्चकन्या माविलाई ४ भलिबल, २ नेट र १ थान ड्रम तथा वडा नम्बर ४ को मंगलादेवी माविलाई ५ बल र २ नेट सहयोग गरिएको हो । वडा नम्बर ३ मा वडाध्यक्ष रामबाबु पराजुली र ४ मा वडाध्यक्ष सन्च तामाङले विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको उपस्थितमा सम्बन्धित विद्यालयलाई छुट्टाछुट्टै कार्यक्रम गरी खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।
वडाध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु रामबहादुर विष्ट, श्याम पण्डितले सहयोगी संस्था गोर्खा मिडिया र त्यसका सञ्चालक मिलन तमुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छन् । उनीहरुले गोर्खा मिडियाको सहयोगबाट विद्यालयहरुको खेलकुद गतिविधि अगाडि बढाउन सहयोग मिल्ने बताए ।
गोर्खा मिडिया डटकम 'सूचना र समाजिक सेवा सँगसँगै' सन्देशसहित सन् २०२० सेप्टेम्बर १४ मा शुभारम्भ भएको हो । पूर्व ब्रिटिस गोर्खा सैनिक तथा फोटो पत्रकार मिलन तमु गुरुङको एकल स्वामित्वको गोर्खा मिडियाले बेलायतमा सामुदायिक पत्रकारिता, ब्रिटिस गोर्खा समुदायका मुद्दालाई प्राथमिकता दिँदै जनसरोकारका समाचार सामग्री र विचार सम्प्रेषण गर्दै आएको छ ।
यस कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विज्ञापनमार्फत संकलित रकम कार्यालय सञ्चालन, कर्मचारीको तलबमा खर्च गरेर बचेको रकम स्रष्टा सम्मान, शैक्षिक, खेलकुद क्षेत्र तथा विपन्न व्यक्ति/परिवार, विभिन्न रोगपीडितलाई प्रदान गर्दै आएको छ ।
यसअघि नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ३ मा सञ्चालित जनकल्याण सामुदायिक विद्यालयलाई ३५ हजार, नुवाकोटमा आयोजित जिल्लाव्यापी क्रसकन्ट्री दौड प्रतियोगितामा ३१ हजार, पोखरामा आयोजित एकल गुरुङ (गीत) नृत्य प्रतियोगितमा प्रथम पुरस्कारबापत ३० हजार, स्टार्स सामूहिक नृत्य प्रतियोगिताका लागि १० हजार रुपैयाँ, नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय कास्कीमार्फत राहत वितरणका लागि नगद, द्वन्द्वकालमा घाइते पञ्चकन्या- ४ कुलकुलेका संगीतकर्मी दिनेश तामाङलाई १० हजार नगद र तादीकी मिर्गौलापीडित साइँली तामाङलाई ५ हजारजलगायत अन्य थुप्रै सहयोग गरिसकेको छ ।
गोर्खा मिडियाले यही २० अक्टोबरमा बेलायतमा चौथो वार्षिकोत्सव मनाउँदैछ ।