अल्डरसट । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरुले अगामी अक्टोबर २६ तारिख शनिबार सामूहिक भाइटीका तथा देउसीभैलो कार्यक्रम-२०२४ आयोजना गर्ने भएका छन् ।
विगतमा जस्तै अल्डरसटस्थित एम्पायर हलमा सामूहिक भाइटीका तथा देउसीभैलो कार्यक्रम गरिन लागेको समाजकी चेलीबेटी प्रमुख लिना गुरुङले जानकारी गराएकी छिन् । उनले भिडियो सन्देशमार्फत कार्यक्रमबारे जानकारी गराउँदै यूकेमा रहेका सम्पूर्ण क्वोंने (घोताने/घोन्डे) दाज्युभाइहरुलाई निमन्त्रणा गरेकी छिन् ।
चेलीबेटी महासचिव धुव्र गुरुङका अनुसार चेलीबेटीहरुले आफ्नो माइती दाज्युभाइहरुको सम्मानमा दाज्युभाइ-पूजा स्वरूप सामूहिक भाइटीका तथा देउसीभैलो कार्यक्रम गर्नेछन् । कार्यक्रममा चेलीबेटीहरुद्वारा नृत्यहरु प्रस्तुत गर्नुको साथै पारिवारिक भ्रमणका लागि नेपालबाट हाल यूके आएका भूपू एसपी राजेन्द्र गुरुङद्वारा रचित चेलीबेटीहरुप्रति समर्पित तिहार गीतको पनि छायाङ्कन हुने कुरा जानकारी गराइन् । महासचिव ध्रुवका अनुसार देउसीभैलोको साथसाथै तिहारको झल्को आउने त्रिपासा, झन्डी बुर्जा, फलास पल्टाउने जस्ता खेलहरू पनि खेलाइनेछ । यस किसिमका कार्यक्रमले विदेशमा पनि आफ्नो रीतिरीवाज परम्परालाई निरन्तरता गर्न सहयोग गर्ने उनको विश्वास छ ।
त्यसैगरी चेलीबेटी प्रमुख लिना गुरूङले सबैभन्दा मुख्य कुरा भनेको यस किसिमको कार्यक्रमले दाज्युभाई तथा दिदीबहिनीहरुको सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउन सहयोग हुने बताइन्। उनी कार्यक्रम भव्यताका साथ सफल हुनेमा विश्वस्त छिन् । साथै उनले यूकेमा रहेका सम्पूर्ण बाबा माइतीहरूलाई चुल्हो निम्तो गरेकी छिन् ।
यूकेमा यस किसिमको सामूहिक भाइटीका तथा देउसी-भैलो कार्यक्रम गर्ने क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज पहिलो संस्था भएको दाबी छ । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) चेलीबेटीहरुले यसअघि दुई पटक यस्तो सामूहिक भाइटीका तथा देउसीभैलो कार्यक्रम गरिसकेका छन् ।
त्यस्तै, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) दाज्युभाइहरुले पनि माघे संक्रान्तिको अवसरमा आफ्नो चेलीबेटीहरुलाई सन् २०१५ सालदेखि हरेक वर्ष सामूहिक भोज (री चमी कै) कार्यक्रम गर्दै आइरहेका छन् । https://www.facebook.com/ghotaneghonde.samaj/videos/504268845757791/?mibextid=rS40aB7S9Ucbxw6v
https://www.facebook.com/ghotaneghonde.samaj/videos/504268845757791/?mibextid=rS40aB7S9Ucbxw6v