लन्डन । तमु प्ये ल्हु संघ यूकेको आजीवन सदस्य भेटघाट तथा कल्याणकारी रात्रिभोज सम्पन्न भएको छ । ५ अक्टोबर २०२४ मा एम्पायर हल अल्डरसटमा भव्य रूपमा कार्यक्रम आयोजना गरेको हो ।
परोपकारी उद्देश्यले हरेक वर्ष आयोजना गरिने कार्यक्रम विशेषगरि सामुदायिक भवन तथा क्होँईवो निर्माण सहयोगार्थ आयोजना गरिएको थियो ।
संघका अध्यक्ष क्या (रि) डेम बहादुर योज तमुको संयोजकत्वमा भएको कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कार्यसमितिले गरेको थियो । विगत वर्षभन्दा रोचक र रोमाञ्चक भएको थियो । नयाँ र नौलो आकर्षणका रूपमा हरेक वर्ष निरन्तर रहनेगरि चेयरमेन कप र प्रज्वल रथी सम्मान समावेश गरिएको थियो ।
तमु जातिको भेषभुषा प्रवर्धनमा टेवा पुर्याउने हेतुले समावेश गरिएको चेयरमेन कप दम्पती भेषभुषा प्रतियोगितामा कुल प्हच्यु र विष्णु टु क्ल्हेप्रीको जोडी सर्वाधिक ५४ अंक ल्याएर विजेता बने । भेग च्हाक्ली र डिल कुमारी प्हच्युको जोडी ५२ अंकसहित उपविजेता बन्यो । प्रतियोगितामा १२ जोडी दम्पत्तिले सहभागिता जनाएका थिए ।
चेयरमेन कप दम्पती भेषभुषा प्रतियोगिताको निर्णायकमा संघका सल्लाहकारद्वय क्या. (रि) नर बहादुर पर्जु तमु एमभीओ, बीईएम, हितमान केप्छे तमु र तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया तमु रहेका थिए ।
त्यसैगरि मौलिक पहिचानको स्रोत मानिने कुल धर्म, संस्कार, संस्कृति, भाषा तथा भेषभुषालगायत समाज, समुदाय र संस्थाका लागि विशेष योगदान दिने व्यक्तिको सम्मानार्थ प्रज्वल रथी सम्मान पनि प्रदान गरिएको थियो । उक्त सम्मान प्रा. नारायण ल्हेँगे तमुले प्राप्त गरे । हरेक वर्ष समाज र संस्थालाई विशेष योगदान दिने उत्कृष्टहरूबाट एकजना सर्वोत्कृष्ट छनौट गरेर यो सम्मान प्रदान गर्ने गरिन्छ ।
कार्यक्रममा तमु धीं यूके र तमु समाज यूकेलगायत अन्य विभिन्न समाज एवं भाइ खलकलाई समेत आमन्त्रण गरिएको थियो । हालसालै नियुक्त भएका विभिन्न संघ-संस्था अध्यक्षलगायत अन्य विशेष व्यक्तित्वलाई सम्मान पनि गरेको थियो ।
कार्यक्रमको मनोरञ्जन तथा आकर्षणको अर्को पक्ष राफल ड्र र विविध सांस्कृतिक कार्यक्रम थियो । जसलाई संघका तृतीय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमु र सांस्कृतिक संयोजक जुम टु क्ल्हेप्री तमुले संयोजन गरेका थिए । चेयरमेन कप दम्पती भेषभुषा प्रतियोगितालाई द्वितीय उपाध्यक्ष अमर त्होर्जे तमुले सम्हालेका थिए ।