वेल्स । नेपाली समाज ब्रेकन यूकेको बडादसैँ भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
वेल्सको रमणीय स्थल तथा पर्यटकीय क्षेत्र, कास्की धम्पुसको मितेरी गाउँ ‘ब्रेकन’मा बसोबास गर्ने नेपालीले स्थानीय सांसद डेविड चाडविक एमपीको प्रमुख आतिथ्यतामा ५ अक्टोबरका दिन दसैँ भेटघाट सम्पन्न गरेका हुन् । वेल्स असेम्ब्लीका सेनीड जेम्स एवेन्स, ब्रेकनका मेयर कौसिलोर जोहन पवेलसहित अन्य स्थानीय अतिथिको उपस्थितिमा कार्यक्रम भएको हो ।
ब्रेकन टेलिबोल्ट हेंडरसन हलमा भएको यो कार्यक्रम विविध कारणले केही वर्षपछि आयोजना गरिएको हो । सो अवसरमा ब्रेकन तथा वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली उपस्थित भई हर्षोल्लासका साथ रमाइलो गरेका थिए ।
समाजका अध्यक्ष मेजर खुसीमान गुरुङ एमभीओको अध्यक्षतामा कार्यक्रम भएको हो । स्थानीय सांसद डेविड चाडविक एमपी, ब्रेकन तवनका मेयर कौसिलोर जोहन पावेल, समाजका ज्येष्ठ नागरिक धनप्रसाद लिम्बु र समाजका अध्यक्षले दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए । त्यसपछि राष्ट्रिय धुन बजाएर देशप्रति सद्भाव प्रकट गरिएको थियो ।
समाजका उपाध्यक्ष श्रीमती पारु श्रेष्ठको स्वागत मन्तव्यपश्चात् प्रमुख अतिथि र विशेष अतिथिले शुभकामना मन्तव्य दिएका थिए । ब्रेकनका नेपाली युवाको उत्कृष्ट सांस्कृतिक कार्यक्रम सबैलाई मन्त्रमुग्ध पारेको थियो । समाजका सचिव मीनप्रसाद पइजाले सम्पूर्ण कार्यक्रम सञ्चालन गरेका थिए ।
न्यु गोरख इन रेस्टुरेन्टले स्वादिलो खाना उपलब्ध गराएको थियो । पेय पदार्थको प्रबन्ध एक आले र श्रीमती पुष्पा थापाले गरेका थिए । चिटिक्क पारेर सजाइएको हलमा ‘दसैँ आयो घर आँगनमा’ गीतमा गरेको युवाहरूले नृत्य सबैले मन पराए । रफल ड्र गरी उच्चस्तरीय पुरस्कार पनि पनि प्रदान गरियो ।
बेलुका ६:३० बजे सुरु भएको कार्यक्रमको अन्त्यतिर उपस्थित सबैले सामूहिक नृत्य गरेर राति ११.३० बजे समापन भएको थियो । अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।