मेडवे । अहिले दसैँको चहलपहल छ । हरेक ठाउँका नेपालीले सामूहिक रूपमा दसैँ पार्टी आयोजना गरिरहेका छन् । वर्ष दिनमा आउने, गाउँघर, देश, आफन्त अनि बाल्यकालको याद दिलाउने चाड । सकेसम्म सबै भेला भएर मान्ने चलन छ विदेशमै भए पनि ।
पहिला जस्तो टाढा–टाढा धाएर दसैँ मान्नुपर्ने बाध्यता छैन यूकेमा अचेल । जहीँतहीँ नेपाली बस्ती छ । नेपाली समूह छन् र सबै ठाउँमा नेपाली समुदायको आफ्नै सामुदायिक संस्था खुलेका छन् ।
जातीय, क्षेत्रीय, पार्टीका भात्रृ संगठनलगायत यूकेका विभिन्न ठाउँ र क्षेत्रमा आ-आफ्नै सामुदायिक संगठनले विशेष ठूला चाड र कार्यक्रम आयोजना गर्ने गर्छन् ।
यही क्रममा ५ अक्टोबर २०२४ को साँझ गोर्खा नेपाली समाज मेडवे (जीएनसीएम) ले वेस्ट ब्रुक प्राइमरी स्कुल जिलिंघाममा २०८१ सालको विजया दशमीको उपलक्ष्यमा मेडवेबासीको उल्लेख्य सहभागितामा भव्य रूपमा दसैँ मनाएको छ ।
प्रमुख अतिथि मेडवेका मेयर काउन्सिलर मेरियन नेस्तोरोभ, मेयरेस लिउबोभ नेस्तोरोभ, चाथाम र आयल्सफोर्डकी एमपी लाउरेन ईडवार्ड्स, रोचेस्टर र स्ट्रुडका एमपी ट्रीष्टान ओसबोर्नको उपस्थिति थियो ।
यस्तै, मेडवे काउन्सिलका काउन्सिल लिडर काउन्सिलर भिन्स मापल, डिपुटी काउन्सिल लिडर काउन्सिलर टेरेसा मुर्रे, मेडवे काउन्सिलका क्याबिनेट सदस्य, सम्पदा, संस्कृति र काउन्सिलर आचरण समिति अध्यक्ष मेडवे २०२३-२०२४ का मेयर निना गुरुङ र मेडीस्टोन नेपाली समाजका अध्यक्ष मोहन तामाङलगायत अन्य लब्ध प्रतिष्ठित अतिथिको सहभागितामा भव्य रूपमा दसैँ कार्यक्रम सम्पन्न भयो ।
गोर्खा नेपाली समाज मेडवेका अध्यक्ष भबिन साम्पाङको नेतृत्वमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपालीहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई साथै उपस्थित अतिथिलाई धन्यवाद दिँदै अध्यक्ष भबिन साम्पाङले दसैँको शुभकामना दिएका थिए ।
उपाध्यक्ष ज्ञानेन्द्र राईले पाहुना र अतिथिलाई कार्यक्रममा स्वागत गरे । महासचिब हरित पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा, अतिथि वक्ता, काउन्सिल लिडर काउन्सिलर भिन्स मापल, एमपी लाउरेन ईडवार्ड्स र एमपी ट्रीष्टान ओसबोर्नले शुभकामना मन्तव्य राखेका थिए । यूकेमा नेपालको ठूलो र महत्त्वपूर्ण पर्व दसैँको शुभकामना साट्न पाउनु गर्वको कुरा भएको उनीहरूको भनाइ थियो ।
मेडवेमा गत शैक्षिकसत्रमा उत्कृष्ट नतिजा ल्याएर जीसीएसई, ए लेबल र उच्च शिक्षा हासिल गरेका जेहेनदार विद्यार्थीलाई प्रमुख अतिथि मेयर र एमपीको हातबाट खादासहित प्रमाणपत्र प्रदान गरिएको थियो । नेपालबाट आएका लोकप्रिय लोकदोहोरी गायक मिलन लामाले आफ्ना चर्चित गीत गाएर नचाए । ईभा राई, सबिता पोख्रेल र अन्यको नृत्यले पनि पनि दर्शकको मन जितेको थियो ।
अन्य आकर्षणमा राफल ड्र जसका निमित्त धेरैले राफल ड्रका लागि पुरस्कार उपलब्ध गराएका थिए र धेरैले पुरस्कार पनि जिते । साँझ अबेरसम्म खानपानसहित मनोरञ्जन र नाचगान गर्दै यस वर्षको दसैँ मेडवेबासीले धूमधामले बनाए ।
बडादसैँको सांस्कृतिक धार्मिक र सामाजिक महत्वबारे विदेशी पाहुनालाई जानकारी दिने र दसैँ नेपालीको सामूहिक चाडका रूपमा मनाउने चलन रहेको जानकारी दिइएको थियो । नेपालीले दसैँलाई परदेश गएका, टाढिएका परिवार भेला भएर ठूलाका हातबाट टिका जमरासहित आशीर्वाद र दक्षिणा लिने अनि मिठो मसिनो खाएर रमाइलो गर्ने भएकाले खुसीयालीको चाडका रूपमा दसैँलाई लिने गर्छन् ।
खुसी वा सुखको पर्यायका रूपमा लिइने दसैँलाई सुख र सद्भावको चाडका रूपमा भव्य रूपमा मनाउने चलन छ । तर तडकभडक चाडका रूपमा मनाउनाले विकृति पनि देखिने गरेको छ । आधुनिक समयमा कतिले दसैँ बहिष्कार गर्ने र विरोध गर्ने कार्य पनि हुँदै आएको छ ।
वर्ष दिनमा एकदिन सबै भेला भएर रमाउने र देश र बाल्यकाल सम्झना गराउने चाडलाई विदेशमा नेपाल सम्झाउने चाडका रूपमा लिन थालिएको छ । देश बाहिर नेपाल चिनाउने चाडका रूपमा दसैँ मुख्य चाड बनिरहेको छ ।
भूमिराज राई
मेडवे केन्ट यूके