लन्डन। बेलायतको अल्डरसट, फार्नबोरो क्षेत्रका संसद सदस्य एलेक्सजेन्डर बेकर र ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मे. रि. टिकेन्द्र दल देवान जेपीबीच भेटवार्ता भएको छ ।
एलेक्सजेन्डरको निमन्त्रणमा लन्डनस्थित वेष्टमिनिष्टर पोर्टकुलिस हाउसमा २ अक्टोबरमा भेटवार्ता भएको हो । भेटवार्तामा ह्याम्पसायर काउन्टी काउन्सिलर एलेक्स क्रफोर्ड (एल्डरशट नर्थ डिभिजन) को पनि उपस्थिति थियो ।
सो अवसरमा वर्षौंदेखि चलिरहेको गोर्खा समस्यालाई समाधान गर्न अगाडि बढाउने रणनीतिबारे विशेष छलफल भएको थियो ।
‘हामीले गरेका दुई सरकारबीचका धेरै बैठकले रक्षा मन्त्रालयको कठोर अडान रहेको देखिन्छ र हामी अझै पनि ३५ बुँदाहरूको काउन्टर तर्कमा उनीहरूको प्रतिक्रियाको प्रतीक्षामा छौँ । सहमति भएअनुसार राजनीतिक संवादबाट मात्रै न्याय प्राप्त गर्न सकिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा भित्रबाटै सञ्चालित हुन्छ,’ देवानले भने, ‘त्यसकारण हामीले अब सक्रिय रूपमा एलेक्सलाई समर्थन गर्न आवश्यक छ ।’
एलेक्सले नेपालका लागि सर्वदलीय संसदीय समूहको पुनर्गठन र अध्यक्षता गर्ने र यस विषयमा नेपाली दूतावाससँग सम्पर्क राखेको पुष्टि गरिन् । एलेक्सको नेतृत्वमा रहेको एपीपीजीमा सामेल हुन वा समर्थन गर्न प्रत्येक भूपू गोर्खाहरूले आफ्नो सम्बन्धित सांसदलाई सम्पर्क गर्नेबारे छलफल भएको थियो ।
देवानले भने, ‘हामीले सम्भावित कुनै पनि र सबै कानुनी मार्गहरू समाप्त गरिसकेका छौँ। त्यसैले यो अत्यावश्यक छ कि हामी सबै एकजुट भएर एलेक्सद्वारा हामीलाई प्रस्ताव गरिएको यो एउटा अवसरमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।’
एलेक्सद्वारा मिति तोकिएपछि देवानले उनको कुरा सुन्न र छलफलको लागि अवसर प्रदान गर्न जी १० को बैठक आयोजना गर्ने बताए ।
झन्डै एक घण्टा चलेको छलफलले आगामी दिनमा केही मद्दत पुग्ने कुरामा देवान सकारात्मक देखिए। एलेक्सले सक्दो प्रयास गर्ने वचन दिएका थिए ।