लन्डन । राजशान्ति फाउन्डेसन बेलायतले मानवसेवा आश्रम लमजुङलाई खाद्यान्न सहयोग गरेको छ । राजशान्ति फाउन्डेसन बेलायतका संस्थापक राजकुमार सुनार (राजु) र शान्ति सुनार दम्पतीले आश्रम व्यवस्थापनका लागि खाद्यान्न सहयोग गरेका हुन् ।
सुनार दम्पतीले सोह्रश्राद्धको अवसरमा आफ्नो कुलमा दिवगंत सम्पूर्ण पितृहरूको सम्झनामा १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन् । बेलायतमा रहेका सुनार दम्पतीले गृह जिल्लामा रहेको आश्रममा सहयोग गरेका हुन् ।
आश्रमका लागि आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य सामग्री फाउन्डेसनका नेपाल प्रतिनिधि समीप विश्वकर्मा र पत्रकार अनुज अधिकारीले आश्रमका संयोजक अनिता अधिकारीलाई हस्तान्तरण गरेका छन् । सुनार दम्पतीले यसअघि पनि आश्रम सञ्चालनका लागि नगद सहयोग, भाँडावर्तन, खाद्यान्नलगायतको सहयोग गरेका थिए ।
फाउन्डेसनले यस वर्ष मात्रै जिल्लाका विभिन्न स्थानमा गरी २ लाख ३६ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । फाउन्डेसनका संस्थापक राजकुमार सुनारका अनुसार पञ्चशील तामाङ समाज सुन्दरबजार-५ को भवन निर्माणका लागि ५१ हजार रुपैयाँ, हातोमालो मूल आमा समूह भोटेओडारले सञ्चालन गरेको तीजगीत प्रतियोगिताका लागि २१ हजार रुपैयाँ, लमजुङ कलाकार समाजलाई ३१ हजार १०० रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी जिता गोल्डेन फिउचर युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताका लागि २१ हजार, स्वर्गीय अप्सरा विकको परिवारलाई २१ हजार, आशी माला फिल्मका लागि २१ हजार, ३१औँ त्रिवेणी कपका लागि २१ हजार, भारती सदन मावि र जलदेवी युवा क्लबको आयोजनामा सञ्चालित भलिबल प्रतियोगिताका लागि १० हजार रुपैयाँ र क्यान्सर पीडित बिर्ख विकको उपचारका लागि उनले ८ हजार ५१२ रुपैयाँ सहयोग गरेका छन् ।
प्रवासमा रहँदा आफ्नो परिवारको कमाएको केही प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने उद्देश्यसहित परिवारका नाममा फाउन्डेसन खोलेर सहयोग गर्ने गरिएको सुनार दम्पतीको भनाइ छ ।
मातृभूमिका लागि सहयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने सुनारले बताए । सन् २००० मा स्थापना भएको फाउन्डेसनले यस वर्ष मात्रै साढे दुई लाख सहयोग गरेको र हालसम्म ३० लाखभन्दा बढी सहयोग गरिएको उनले बताए ।