स्त्री रुपमा देख्नेले
मलाई छोरी भनेर चिन्दो रहेछ
छोरी भनेर चिनिसकेपछि
मलाई पराई घरजाने नासोको रुपमा हेर्दा रहेछन्
उता छिमेकीले
घरकी लक्ष्मी हो तिमी भनेर
केही दिनको देवी बनाउँदा रहेछन्
आधा आकाशको उपमा पनि दिन्छन्
र, सल्लाह दिन्छन्–
तिमी पानी जस्तै हौ, जसको आफ्नो आकार हुँदैन
समय अनुकूल जस्तो पनि आकार बन्नु पर्छ
यसो उसो भन्दै भन्दै
आफ्नै समाजमा
दोस्रो दर्जाको नागरिक बनाइसकेको पत्तै हुँदैन
सम्झन्छु,
जन्मेदेखि मृत्युसम्म पुग्दा
म एक स्त्री
तर यो समाजले अनेकौं नाम दिँदारहेछन्
कहिले कडा त कहिले मसिनो स्वरमा
थर्काउँछन् मलाई–
नगर्नु हिम्मत सपना देख्ने
बरु रमाउनु चुला चौकामा
नचियाउनु आँगन बाहिरको रंगिन संसार
राख्नु गुम्स्याएर कथा-व्यथाहरु
लाग्छ
समय रोकिएको छ
अझ आमूल परिवर्तन हुन बाँकी नै छ
स्त्रीलाई हेर्ने दृष्टिकोणमा
विल्कुलै नयाँ चिन्तन भित्र्याउन बाँकी नै छ
आमाले मलाई सुनाउनुहुन्थ्यो–
‘तिमी जन्मिँदै गर्दा
म अर्धबेहोस थिएँ
आफैलाई बिर्सेछु
तर तिम्रो अबोध अनुहारमा
मैले मेरो अवतार पाएँ’
आमाले फेरि सुनाउनु भयो–
‘विस्तारै आफूलाई सम्हाल्दै
फेर्दे लामो श्वास
खोल्दै सुस्तरी आँखा
पोत्दै अनुहारमा आशाका किरण
तिमीलाई काखमा पाएपछि
भुलेछु स्त्री पीडा’
आमाको नोस्टाल्जियाहरु
साउतीको भाषामा फेरि दोहोरिन्छन्–
‘कसैले मलाई सुनाए भारी आवाजमा
माइली छोरी जन्माएछौ’
मेरी आमालाई ती भारी आवाजमा
मिसिएको शब्द सुन्दा
बुङ्कुलुङको आलुको भारीले थिचेजस्तै अनुभूति भएको थियो रे
कुरुप समाजको सिंगो अनुहार
मसँगै आमाको गर्भबाट झरेको सालनालभरि
छरपस्ट भएको थियो रे
हर्षहरु कतै लुकेका थिए रे
खुशीहरु अन्तै गएका थिए रे
माइलीको आगमनमा
पितृसत्ता किन हो कुन्नी
निकै डराएको थियो रे
आमाले मलाई भन्नु भएको
मेरो जन्मको कथा हो यो
आमाको गर्भबाट स्त्रीको आगमन हुँदा
समाज डराउनु
त्यो भन्दा डरलाग्दो चिज अरु के हुनसक्छ ?
अर्थात् माइलीको आगमनमा कोही किन डराउँछ ?