लन्डन । बेलायतको अल्डरसटमा २८ सेप्टेम्बर २८ शनिबार ‘प्रथम काव्य सन्ध्या’ सम्पन्न भएको छ । साहित्य संगालो परिवार बेलायतद्वारा आयोजित कार्यक्रममा सारंगी र टुंग्ना संगीतका साथ आठ जना कविले २४ थान कविता सुनाएका थिए ।
कविहरू जीवन तिवारी, शान्ति लिम्बू, काङमाङ नरेश राई, खुपेन सुनुवार, डा. संगीता स्वेच्छा, डा. रूपक श्रेष्ठ, मुकेश राई र निर्भीकजंग रायमाझीले कविता वाचन गरेका थिए ।
कार्यक्रम सञ्चालक साहित्यकार केदार संकेतले भूपीको कविताका हरफबाट काव्य सन्ध्याको घुम्टो खोलेका थिए:
हो, म एक्लै छु,
तर मेरो साथ दिने
म सँगै सिंगै, अँध्यारो रात छ,
झ्यालसम्म नांगिएको रूख हेर्छु
त्यहाँ पनि एक्लो पहेँलो पात छ ।
.....
यी हरफमा वाद्यवादक रोशन महर्जनले रेसम फिरिरि संगीतको धुन भरेका थिए । कविहरूलाई साहित्यकार डा. मुलिवीर राईले मञ्चमा खादा लगाएर स्वागत गरे ।
पहिलोपटक भएको काव्य सन्ध्या नामक कार्यक्रम नितान्त अनौपचारिक शैलीको थियो । कोही पनि सभापति वा अतिथि थिएनन् । दुई घण्टा चलेको कार्यक्रममा प्रत्येक कविले तीनवटा कविता सुनाउँदा संगीतकार रोशन महर्जनले सारंगी र टुङ्ना बजाएर कवितामा रस भरेका थिए ।
उद्घोषक तथा साहित्यकार केदार संकेतले अनौपचारिक शैलीमा सञ्चालन गरेको कार्यक्रममा विस्तारै पट्यारलाग्दो र लामो समय लिने परम्परागत शैली तोडिनु पर्ने संकेत पनि दिएका थिए ।
निकट भविष्यमा साहित्य संगालो टीम बेलायतले सबै कविलाई काव्य सन्ध्याको मञ्च प्रदान गर्ने वचन पनि संस्थापक संकेतले बताए । अन्त्यमा डा. संगीता स्वेच्छा र काङमाङ नरेश राई र शान्ति लिम्बूका नवीनतम कृतिको बिक्री तथा पुस्तक हस्ताक्षर गरिएको थियो ।
कार्यक्रम सकिएपछि खानपिन तथा जलपान समारोह पनि गरिएको थियो ।