लन्डन । मेडस्टोन गोर्खा नेप्लिज कम्युनिटीले आगामी ४ अक्टोबर २०२४ मा दसैं पार्टी आयोजना गर्दै छ ।
नेपालबाट ख्यातिप्राप्त लोक तथा दोहोरी गायक मिलन लामालाई अतिथि कलाकारका रुपमा डाकेर गोर्खा नेप्लिज कम्युनिटीले कार्यक्रम गर्न लागेको हो । कार्यक्रम शुक्रबार ४ अक्टोबरका दिन मेडस्टोन लेजर सेन्टरमा हुने छ ।
समय बेलुकी ६ देखि १० बजेसम्म तोकिएको छ । उक्त कार्यक्रममा सहभागी हुन आयोजकले बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा सहभागिताका लागि टिकट बिक्री जारी रहेकोले इच्छुकले मेडस्टोन गोर्खा नेप्लिज कम्युनिटीका कार्यसमितिलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
यसैबीच चर्चित लोक तथा दोहोरी गायक तथा मोडल मिलन लामा यो दसैं, तिहारका बेला बेलायतमा रहने भएका छन् । मेडस्टोन गोर्खा नेप्लिज कम्युनिटीको दसैं पार्टीलगायत कार्यक्रमका लागि उनी बेलायत आउन लागेका हुन् । उनले शुक्रबार सामाजिक सञ्जालबाट बेलायत र स्पेनको कार्यक्रमको ब्यानर पोस्ट गर्दै छिट्टै भेट्ने बताएका छन् ।
यहाँ अक्टोबरका लागि विन्चेस्टर, प्लमस्टिड, सिउथ हम्पोनमा कार्यक्रम फिक्स भइसकेको गायक लामाले गोर्खा मिडिया युकेलाई जानकारी दिए । चितवन एड ट्रस्ट (क्याट) युकेको निमन्त्रणामा गत जुलाई २६ तारिखमा बेलायत आएर करिब दुई हप्ता यहाँ रहेका थिए गायक लामा । त्यसक्रममा उनले २८ जुलाईमा क्याट युकेको शैक्षिक अक्षय कोष वृद्धि सहयोगार्थ च्यारिटी कार्यक्रम, २ अगस्टमा मिलन लामा म्युजिकल नाइट लगायत कार्यक्रममा सांगीतिक प्रस्तुति दिएका थिए ।
१० अगस्टमा लन्डनबाट सीधै पोर्चुगल उडेका थिए गायक लामा । गायक लामा 'माझी दाइ पोखरा फेवातालको', 'हङकङ आइडी', 'जुम्ला कालीकोटको', 'घरमा पराल', 'कृष्णभीरमा जाम', 'बेसारेको' लगायत दर्जनौं लोकप्रिय गीतका सर्जक हुन् ।
चितवनमा जन्मिएका गायक लामा समाजसेवामा रची राख्दछन् । उनी गत २०७९ को संघीय निर्वाचनमा उम्मेदवारसमेत बनेका थिए ।