स्याफरोन वाल्डेन । उत्तरी लन्डनबाट झन्डै ४३ माइल अनि क्याम्ब्रिज शहरबाट १५ माइलको दूरीमा रहेको अटल्सफोर्ड डिस्ट्रिक्ट पेरिस काउन्सिलस्थित स्याफरोन वाल्डेन टाउनमा गुरु खेन रिम्पोछे शिर लामा गुरुङद्वारा साङ पूजा सम्पन्न भएको छ ।
सानो र चिटिक्क परेको शहरमा २१ र २२ सेप्टेम्बर २०२४ शनिबार र आइतबार यूकेका प्रमुख गुम्बाहरू रिडिङ गुम्बा, डाइमन्ड बुद्धिस्ट सेन्टरलगायत पाँच वटा गुम्बाका मूल गुरु खेन रिम्पोछे शिर लामा गुरुद्वारा पूजा (पुन्य प्राप्ति पूजा) गरेका सुसम्पन्न गरेका छन् । सो अवसरमा मूल गुरुको जन्मदिन पनि भव्य रूपमा मनाइएको छ ।
ताङतिङ समाज यूकेका संस्थापक अध्यक्ष तथा ताङतिङ नौचु पैगीलम भाईखलक यूकेका अध्यक्ष क्याप्टेन (रिटायर्ड) गौबहादुर गुरुङ MBE का अनुसार शनिबार बिहान स्थानीय रेस्टुरेन्टमा सहाकारी खाजा भोजनपछि गुरुलाई स्थानीय ऐतिहासिक र सांस्कृतिक ठाउँको भ्रमण गराइएको थियो । १६औँ तथा १७औँ शताब्दीमा बनेको ऐतिहासिक दरबार, मोनुमेन्ट तथा स्थानीय बगैँचाको अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा गुरुलाई स्याफरोन वाल्डेन क्षेत्रमा बसोबास गर्ने थुप्रै भूपू गोर्खाहरू, नेपालीहरू र स्थानीय गोराहरूले पनि साथ दिएका थिए । अवलोकनका गुरुलाई इङलिस हेरिटेज अडली इन्ड र गार्डेनका कर्मचारीहरू कारा डोन्कर, एडवार्ड वेल्च, टिम टर्नर, मौरीन ओ'सुलिभान र स्यु राइटले स्वागत गर्नुका साथै ऐतिहासिक ठाउँबारे जानकारी गराएका थिए ।
आइतबार गुरुबाट स्थानीय हल स्याफरोन कम्युनिटी लिंक, स्याफरोन वाल्डेनमा सामूहिक ग्रह शान्तिका लागि साङ् पूजा र ल्युई त्हें पुजा आयोजना गरेको थियो । पूजाको लागि स्याफरोन वाल्डेन नेपाली समाज यूकेले खानपिन, पूजा स्थान सजावटदेखि सबै कुराको व्यवस्था मिलाएको थियो । पूजाको अन्त्यमा भक्तजनले हर्षोल्लासका साथ गुरुको जन्मदिन मनाएका थिए ।
क्याप्टेन गौबहादुर गुरुङ, MBE ताङतिङ समाज यूकेको संस्थापक अध्यक्ष तथा ताङतिङ नौचु पैगीलम भाइखलक यूकेका वर्तमान अध्यक्ष, ताङतिङ मितेरी संघ यूकेका संयुक्त संस्थापक ट्रस्टी, तमु धीं यूके अनि तमु फोरुम यूकेका सल्लाहकार लगायत विभिन्न सामाजिक संस्थाहरूसँग अबद्ध छन् । साथै विभिन्न परोपकारी कार्यमा पनि संलग्न छन् ।
गुरुको भ्रमण र पूजाका लागि गुरु खेन रिम्पोछे शिर लामा गुरुङ, स्थानीय, स्याफरोन वाल्डेन नेपाली समाज यूके तथा सम्पूर्ण भक्तजनलाई क्याप्टेन गौबहादुर गुरुङ MBEले धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका छन् ।