लन्डन । तमु धीं यूकेले प्रख्यात संरक्षणविद् तथा भूगोलविद् विद्वान स्वर्गीय डाक्टर हर्क ल्हेंगे गुरुङ र संरक्षणविद् तथा प्रकृति संरक्षणका अगुवा डाक्टर चन्द्र कोने गुरुङको स्मृति दिवस मनाएको छ ।
दुवै जना विद्वानको निधन भएको १८ वर्ष पुगेको अवसरमा २२ सेप्टेम्बर २०२४ का दिन तमु धीं भवनमा स्मृति दिवस मनाइएको हो । तमु धीं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले राखेका थिए ।
तमु धीं यूकेका सल्लाहकार क्या. पीताम्बर गुरुङका स्व. माता-पिता, सल्लाहकार ले. कुसाङ गुरुङका स्व. माता र तमु धीं आमा समूहकी महासचिव शान्ता गुरुङको स्व. माताको आत्मालाई शान्ति मिलोस् भनी एक मिनेट मौनधारण गरिएको थियो । उपस्थित सबैले डा. हर्क र डा. चन्द्रको तस्बिरमा माल्यार्पण गर्दै फूल र खादा अर्पण गरेका थिए ।
डा. हर्कको बारेमा उनका भतिज लोक गुरुङले मन्तव्य राखेका थिए भने अमृतमान गुरुङले उनका मामा डा. चन्द्रका काम र कीर्तिबारे सुनाएका थिए । तमु धींका सम्पूर्ण सल्लाहकार र ट्रस्टीजको प्रतिनिधित्व गर्दै ट्रस्टिज एकेन्द्र गुरुङले तमुहरूको ताराका रूपमा चम्किरहेका डा. हर्क र डा. चन्द्रले नेपालका लागि पुर्याएको योगदानका विषयमा चर्चा गरेका थिए ।
उनीहरूको सम्झनामा अध्यक्ष हरि गुरुङ, उपाध्यक्ष परशु गुरुङ र सचिव विमल गुरुङले भावपूर्ण कविता वाचन गरेका थिए । संस्थापक अध्यक्ष र अध्यक्ष हरि गुरुङले दीप प्रज्वलन गरेका थिए । अध्यक्ष हरि गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रम सञ्चालन तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले गरेका थिए ।
२०६३ असोज ७ गते ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा उनीहरूको निधन भएको थियो । सो दुर्घटनामा भएको १८ वर्ष पूरा भएको छ। २०६३ असोज ७ गते भएको त्यस दुर्घटनामा मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वको ज्यान गएको थियो ।
संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी र वन्यजन्तु विशेषज्ञ यस दुर्घटनामा परेका थिए। कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने समारोहमा सहभागी हुन विशिष्ट व्यक्तित्वहरूको टोली घुन्सा पुगेको थियो । उनीहरूको योगदानको स्मरण गर्दै असोज ७ लाई नेपाल सरकारले राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउने गरेको छ ।