लन्डन । तमु प्ये ल्हु संघ यूकेले युवा सशक्तीकरणका लागि युवा समन्वयन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
२२ सेप्टेम्बर २०२४ का दिन अल्डरसटस्थित एम्पायर हलमा एक समारोहबीच सम्मान गरेको हो । कार्यक्रममा छोराछोरीसहित अभिभावकको बाक्लो उपस्थिति थियो । MVO, BEM र MBE पदकले विभूषित संघका अग्रज व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संघको मूल समिति, खेगी समिति, आमा समूह र युवा समितिका पूर्वअध्यक्षलाई संघको नेतृत्वदायी योगदानको कदर गर्दै सम्मान गरियो । संघमा आबद्ध धर्मगुरु र केन्द्रीय संस्थापकलाई समेत सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा उपस्थित छोराछोरी र भान्जाभान्जीलाई स्वागतार्थ सयपत्री फूलको गुच्छा र क्होँईवोँ ब्याज सहित गलबन्दी र घलेक लगाई दिएर सम्मान गरेका थिए ।
द्वितीय उपाध्यक्ष अमर त्होर्जे तमुले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराएका थिए । संस्थापक अध्यक्ष अशोक ल्हेँगे तमु, मे.रि. खुसीमान ल्हेँहे तमु, पीताम्बर ल्होँ तमु र कमल ङोप्छे तमुले विविध विषयमा बोलेका थिए ।
संघका अध्यक्षले युवा सशक्तीकरणबारे संघको भिजन प्रस्तुत गरेका थिए । त्यसैगरि सिर्जना च्हम्रु तमु र खिम टु क्ल्हेप्री तमुको मध्यस्थतामा युवाको आपसी घुलमिलका लागि परिचयात्मक अन्तर-बहस गराइएको थियो । तमु संस्कार संस्कृतिप्रति युवाहरूको कौतुहलता र उत्सुकता रहेको बुझिन्थ्यो ।
थप मनोरञ्जनका लागि गायक तिलक प्ल्हेँ तमु र गायिका उषा प्ल्हेँ तमुका साथमा स्थानीय कलाकारको समेत दमदार सांस्कृतिक प्रस्तुति रहेको थियो ।