लन्डन। लन्डनमा युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ति भव्य रूपमा मनाइएको छ । नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूके तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके शाखाको संयुक्त आयोजनामा आइतबार, सेप्टेम्बर २२ मा मनाइएको हो ।
नेमुप्र केन्द्रका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सहआयोजक रहेका अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले स्वागत मन्तव्यका साथै कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।
मुक्तककार तथा गजलकार भट्टको सम्मानमा भएको उक्त कार्यक्रमको पहिलो चरणमा जीत बुढाथोकी, निर्भीक रायमाझी, गंगा भण्डारी, रवीन्द्र जोशी, रामजी पहारी, विशन थापा, माया गुरुङ, राज श्रेष्ठ, सुमल गुरुङ, रघु भण्डारी, संजिता देउजा, डा. संगीता स्वेच्छा, सन्तोष कार्की, एकता बुढाथोकी, डा. रूपक श्रेष्ठ, वियोगी बुढाथोकी तथा दुर्गा पोख्रेलले मुक्तक तथा गजल वाचन गरे ।
दोस्रो चरणमा कवि विशन थापाको कविता संग्रह ‘आत्मीय आभाष’को विमोचन गरिएको थियो । प्रमुख अतिथि बुढाथोकी, सभापति दुर्गा पोख्रेल, नेमुप्र अध्यक्ष राज श्रेष्ठ, सल्लाहकार सुमल गुरुङ, डा. रूपक श्रेष्ठ तथा डा संगिता स्वेच्छाले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए । विमोचीत कृतिमाथी सुमल गुरुङले समिक्षा गरेका थिए भने कृतिकार थापाले लेखन तथा प्रकाशनमा प्रेरणादायी रहेका सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए।
वियोगी बुढाथोकी प्रधान सम्पादक तथा प्रकाशक रहेको त्रैमासीक पत्रिका ‘शिवपुरी सन्देश’को १०५औँ पूर्णांकको पनि सोही अवसरमा विमोचन गरिएको थियो । उक्त पत्रिकाका बारेमा सम्पादक बुढाथोकीले प्रकाश पारेका थिए । यसै सन्दर्भमा डा. रूपक श्रेष्ठले ‘शिवपुरी सन्देश’को एक अंक ‘बेलायत विशेषांक’को रूपमा प्रकाशन गर्नका लागि अनुरोध गरे । बुढाथोकीले सहर्ष स्विकार्दै आगामी ‘माघ-चैत्र’ अंक बेलायत विशेषांकको रूपमा प्रकाशन गर्ने जानकारी गराउँदै खुसी व्यक्त गरे।
डा. संगिता स्वेच्छाको अंग्रेजी कथाकृति ‘रोजे’ज ओडेसी’ को हस्ताक्षर कार्यक्रम तथा विविध पुस्तक प्रदर्शनी पनि रहेको थियो । सदस्य गंगा भण्डारी तथा अनेसासका उपाध्यक्ष माया गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
आयोजक नेमुप्र यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति दुर्गा पोख्रेलले समापनका क्रममा प्रमुख अतिथिका साथै उपस्थित सबै साहित्यकार तथा व्यवस्थापनका लागि मोन्टिज रेस्टुरेन्टका संस्थापक दीपेन्द्र कार्की, धिरज शमशेर जबरा तथा ममता श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे।
बन्द सत्रमा रहेको नेमुप्रको कार्यकारी समितिको बैठकले रिक्त रहेको सचिव पदमा सदस्य गंगा भण्डारीलाई सर्वसम्मतिले चयन गरेको छ । उक्त पदमा नृपेश उप्रेतीले विगत दुई कार्यकाल सेवा गरेका थिए ।