लन्डन । बेलायतबाट तनहुँकी दृष्टिविहीन गायिका मन्दिरा थापा मगरलाई २ लाख ६२ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।
काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच मगर महिला संघ युकेकी पूर्वउपाध्यक्ष अनिता राना र अर्का अभियन्ता कुन्ता थापाबाट बिहीबार गायिका मन्दिरालाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरणपछि समाजसेवी अनिता रानाले मगर महिला संघ यूकेकी अध्यक्ष विष्णु श्रीससहित सबै सहयोगीलाई धन्यवाद व्यक्त गरेका छन् ।
'मगर महिला संघ युकेबाट नवप्रतिभा नानी दृष्टीविहीन मन्दिरा थापामगरलाई दुई लाख ६२ हजार पाँच सय नेपाली रकम सहयोग गर्नुभएको छ । सम्पू्र्ण मनकारी युके मगर महिला संघको अध्यक्ष विष्णु श्रीसज्यू, निवर्तमान अध्यक्ष छविमाया पुनज्यू, संस्थापक अध्यक्ष हिमाली रानाज्यू, सम्पूर्ण पदाधिकारीज्यूहरु, युके मगर महिला संघका दिदीबहिनीहरु, शाखाका अध्यक्षज्यूहरु, सल्लाकारज्यूहरु र हरेक शाखाबाट यो पुण्य कामलाई हातेमालो गर्नुहुने दिदीबहिनीहरूलाई अन्तरआत्मादेखि वेल डन अनि हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौं,' अनिताले फेसबुकमा लेखेकी छन् ।
मगर महिला संघले यूकेले विगतदेखि नै सराहनीय काम गर्दै आएको उल्लेख गर्दै भोलिका दिनमा पनि यस्ता कामहरु गर्दै जाने विश्वास पूर्वउपाध्यक्ष रानाले व्यक्त गरेकी छन् ।
कार्यक्रममा लोक तथा दोहोरी गायक युवराज मगर, गायक राजेश बर्देवा, पत्रकार पारस भट्टराईलगायतको उपस्थिति थियो । तनहुँको विकट ठाउँकी मन्दिरा दुवै आँखा देख्न नसक्ने रहेकोले सबैले माया र सहयोग गरिदिन समाजसेवी रानाले आग्रह गरेकी छन् । साथै युवा गायकद्वय युवराज मगर र राजेश बर्देवाले मन्दिरालाई नगद ५ हजार हस्तान्तरण गरेका थिए भने कार्यक्रममा सहभागी सम्पूर्णलाई खाजा नास्ताको व्यवस्थासमेत गरेका थिए । हरेक दु:खसुखमा परेका जोकोहीलाई पनि सहयोग गर्नु मानव धर्म हो भन्दै कलाकारहरुलाई उस्तै माया गर्ने आगागी दिनमा पनि यस्ता खालका सहयोगहरु निरन्तर गर्दै जाने मगर महिला संघ तथा बागलुङे समाजका निवर्तमान अध्यक्ष समाजसेवी महिला अगुवा कलाप्रेमी छविमाया पुनले बताइन् ।