लन्डन । बेलायतको सांगीतिक भ्रमण सकेर नेपाली कलाकारहरु धमाधम स्वदेश फर्किन थालेका छन् ।
१/२ महिनादेखि ५/६ महिना समय यहाँ बिताएर कलाकारहरु नेपाल उड्न थालेका हुन् । मंगलबार १७ सेप्टेम्बरमा लोक तथा दोहोरी गायिका सबिना गुरूङ, सपना गाहामगर, वसन्त लम्साललगायत कलाकार स्वदेश फर्किएका छन् । १६ सेप्टेम्बरमा मात्रै नायिका तथा मोडल लक्ष्मी गुरुङ नेपाल फर्किएकी थिइन् ।
यस्तै कलाकार शिवदास गुरूङ १८ सेप्टेम्बरमा नेपाल फर्कंदैछन् । उनले पनि यहाँ झन्डै ४ महिना व्यतित गरेका छन् ।
कलाकारहरूको बिदाईका लागि आफन्त, संस्थाका प्रतिनिधिहरू र शुभचिन्तकहरू हिथ्रो एयरपोर्ट पुगेका थिए ।
गायिका सपना गाहामगर शान्ति नेपाली समाज बेलायतको आयोजनामा हुने कार्यक्रमका लागि बेलायत आएकी थिइन् । उनी यहाँ करिब पाँच महिना बस्दा विभिन्न स्थानमा करिब ४० वटा कार्यक्रममा सहभागी भइन् । पाल्पा जिल्लामा जन्मिएर हाल बुटवल बस्दै आएकी सपनाले करिब चार दर्जनभन्दा बढी गीत आफ्नो स्वरमा बजार ल्याइसकेकी छन् ।
उनले नेपाल पुगेलगत्तै आफ्नो सांगीतिक यात्रामा नेपालमै घुम्ने बताएकी छन् । उनले केही दिनमै एकल लोगीत र दोहोरी गीत बजारमा ल्याउने तयारी रहेकोसमेत योजना सुनाएकी छन् । सपनाले शान्ति नेपाल समाज बर्मिङ्गामलाई विशेष धन्यवाद र अन्य संघ संस्था, पदाधिकारी र सदस्यहरुलाई धन्यवाद तथा आभार प्रकट गरेकी छन् ।
विगत ५ महिनाअघि शान्ति नेपाली समाज बेलायतको आयोजनामा भएको कार्यक्रमका लागि बेलायत आएका लोक तथा दोहोरी गायक वसन्त लम्साल पनि मंगलबार नै नेपाल फर्किएका छन् । बेलायतवासीको मन जित्न सफल वसन्तले पनि यहाँ करिब ४० वटा कार्यक्रममा प्रस्तुति दिन भ्याएका छन् ।
अर्घाखाँची जिल्लामा जन्मेका गायक लम्सालले करिब तीन दर्जन गीत आफ्नो स्वरमा बजारमा ल्याइसकेका छन् । उनले नेपाल फर्कने वित्तिकै गुरुङ, मगर समुदायको यथार्थमा आधारित 'मगर्नीले पारेको तीनपान' गीत बजारमा ल्याउने तयारीमा रहेको बताएका छन् ।