लन्डन । ६ गोर्खा राइफल्स (जीआर)को वार्षिक भेटघाट बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी कलेजमा भब्यताको साथ सम्पन्न भएको छ ।
शनिबार १४ सेप्टेम्बर २०२४ मा धूमधामका साथ कार्यक्रम सम्पन्न भएको हो । गोलमान गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । संयोजक मेजर खुसीमान गुरुङले स्वागत मन्तव्य राख्नुका साथै स्वास्थ्य तथा सुरक्षाबारे पनि जानकारी गराएका थिए ।
मेजर खुसीमान र ६ जीआर रेजिमेन्टल एसोसिएसनका चियरमेन डङ्कन ब्रिग्सले दिप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । ब्रिग्सले ६ जीआरको भविष्य र वर्तमानबारे चर्चा गरे । ६ जीआरको नेपाल शाखाका चियरमेन चन्द्रबहादुर गुरुङले आफूहरूले पनि हरेक वर्ष भेटघाट कार्यक्रम गर्दै आएको बताए । यस वर्ष २० मार्चमा भेटघाट कार्यक्रम आयोजना गर्ने उनले बताए ।
त्यसपछि मेजर खुसीमान गुरुङले उपस्थित महानुभावहरू, सहयोगी दाताहरू, क्याटरिङ, डीजे, फोटोग्राफी, भिडियोग्राफीसहित कलाकारहरूलाई धन्यवाद दिएका थिए । कार्यक्रममा क्याप्टेन वीरबहादुर थापा र खमिरजङ गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए । नेपालबाट आएका कलाकार लोकदोहोरी गायिका सविना गुरुङको समेत प्रस्तुति थियो । सांगीतिक कार्यक्रममा सबै जना रमाएका थिए । मोडल तथा डान्सर आरुसी मगर र लक्ष्मी गुरुङले आकर्षक नृत्य गरेर मनोरञ्जन प्रदान गरे ।
डा. विशाल गुरुङ र लक्ष्मी गुरुङको नाच पनि आकर्षक थियो । आरुसीको कोरियोग्राफीमा निर्मित गीतले सबैलाई भावुक बनाएको थियो । राफल ड्र पनि कुमार गुरुङले सञ्चालन गरेका थिए । नेपालबाट आएका कलाकारद्वयले पनि राफल ड्र पार्न सफल भएका थिए
राफल ड्रको पहिलो पुरस्कार सुनको चन्द्रमा बल थापाले प्रायोजन गरेका थिए । दोस्रो र तेस्रो पुरस्कार नगद पुरस्कार अमृत गुरुङले प्रायोजन गरेका थिए । अन्त्यमा सबैजना खुसी भएर धूमधामसँग नाचगान गरेका थिए । सो अवसरमा आ-आफ्नो कम्पनी साथै नेपाल कप फुटबल टिम र बटालियन सुटिङ टिमको फोटो खिच्ने कार्यक्रमपनि भएको थियो ।
मेजर खुसीमान र उनका श्रीमती इन्दिरा गुरुङले नेपालबाट आएका कलाकारहरूलाई खादा र नगदसहित सम्मान गरेका थिए । अन्त्यमा अध्यक्षले सबैलाई धन्यवाद दिँदै बेलुका ८ बजे कार्यक्रम समापन गरेका थिए । भेटघाट कार्यक्रममा ६ गोर्खा राईफल्सका अफिसरलगायत झन्डै ४०० जनाको उपस्थित रहेको थियो ।